साउनमा ६ महिना यताकै कम आयात, व्यापार घाटा भने बढ्यो

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए पनि बजारमा उपभोग्य वस्तुको माग भने बढ्न नसकेको पाइएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)को वैदेशिक व्यापार तथ्यांकले आर्थिक शिथिलता कायमै रहेको देखाएको हो ।

विभागका अनुसार चालु आवको साउनमा कुल १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो पछिल्लो ६ महिना अर्थात् गत फागुन यताकै कम हो ।

फागुन यता हरेक महिना १ खर्ब ३० अर्ब बढीको सामान आयात हुँदै आएको थियो भने औसतमा मासिक १ खर्ब ३७ अर्बको सामान आयात हुँदै आएको छ । असारको तुलनामा साउनमा आयात ११ अर्ब रुपैयाँले घटेको छ ।

गत आव २०८०/८१ को साउनको तुलनामा पनि चालु आवमा आयात घटेको छ । गत वर्षको तुलनामा आयात ०.६७ प्रतिशत अर्थात् १ अर्ब रुपैयाँले घटेको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात घटेको हो । साथै, साउनमा निर्माण गतिविधि न्यून हुने भएकाले पनि आयातमा असर परेको हो ।

निर्यातमा उच्च गिरावट

चालु आवको साउनमा निर्यातमा पनि उच्च गिरावट आएको छ । गत साउनको तुलनामा चालु आवको साउनमा निर्यात ९.६३ प्रतिशतले घटेको छ ।

यस वर्षकोे साउनमा १२ अर्ब २६ करोड रुपैयाँको निर्यात भएको छ । यो गत वर्षको तुलनामा १ अर्ब ३० करोड रुपैयाँ कमको निर्यात भएको हो ।

व्यापार घाटा बढ्यो

साउनमा आयात निर्यात घटे पनि व्यापार घाटा भने बढेको छ । आयातको तुलनामा निर्यात धेरै घट्दा व्यापार घाटा वृद्धि भएको हो ।

समीक्षा अवधिमा व्यापार घाटा ०.३८ प्रतिशतले बढेको छ । एक महिनामा नेपालले १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

साउनमा कुल १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो यो गत वर्षको साउनको तुलनामा १.५२ प्रतिशतले कम हो ।

नयाँ सरकार आएपछि राजस्व २०% बढ्यो, सेयर बजार उत्साहित भइरहेको छ : अर्थमन्त्री Read Previous

नयाँ सरकार आएपछि राजस्व २०% बढ्यो, सेयर बजार उत्साहित भइरहेको छ : अर्थमन्त्री

पाँच रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज Read Next

पाँच रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज