काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ सरकार आए यता अर्थतन्त्रका सूचकहरूमा सुधार आइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले घरजग्गा कारोबार, पूँजी बजार, राजस्व संकलन लगायतमा सुधार आएको बताएका हुन् ।
उनले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको बताए । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन २० प्रतिशतले बढेको बताएका हुन् ।
‘वर्तमान सरकार गठन भएको एक महिना पूरा भएको छ । एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक संकेतहरू देखापरेका छन् । अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउने गरी प्रभावकारी काम गर्न बाँकी छ,’ उनले भने, ‘गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजश्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजश्व २० प्रतिशतले वृद्धि भएको छ । बजेटले लिएको राजश्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुर्याउनुपर्छ ।’
अर्थमन्त्री पौडेलले साउन महिनामा पूँजीगत खर्च गत वर्षको तुलनामा ९ गुणाले वृद्धि भएको बताए । साथै, घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरू देखिएको उल्लेख गरे । पछिल्लो एक महिनाको अवधिमा पूँजीबजार उत्साहित भइरहेको उनको भनाइ छ ।
‘साउन महिनामा पूँजीगत खर्च गत वर्षको तुलनामा ९ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरू देखिएका छन् । पूँजीबजार उत्साहित भइरहेको छ,’ उनले भने ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन,रोजगारीको कमी रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले सरकारले पूँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर मात्र काम नहुने बताए । उनले पूँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताए ।
अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार हासियार हुन आवश्यक देखिएको उल्लेख गरे । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीको लागि अर्थमन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाइ छ ।