काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योगहरुलाई सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्ने बताएका छन् ।
महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विद्युतलाई कच्चा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । उनले उद्योगीले ह्वीलिङ चार्ज तिरेर सिधै बिजुली किन्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘बिजुलीलाई कच्चा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनु पर्छ । ह्वील चार्ज तितेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्दछ । बजेटका त्यसको केही कुरा आएपनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु,’ उनले भने ।
उनले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
‘साना तथा मझौला उद्योग सुरुदेखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ,’ उनले भने । उनले कच्चा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।