झापा । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहँदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् ।
५ वर्षमा ८९ करोड ४३ लाख ३६ हजार १६१ रुपैयाँ मूल्य बराबरको १० हजार १६४ वटा ई-रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड २० लाख ३९ हजार ९५९ रुपैयाँ मूल्य बराबरको ४ हजार ६४५ ई-रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो ।
आव २०७९/८० मा १६ करोड ७१ लाख १९ हजार २१३ मूल्य बराबरको १ हजार ८५९ ई-रिक्सा आयात भएको थियो । ई-रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले विगत ५ वर्षमा ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।
आव २०७६/७७ मा यही नाकाबाट ८ करोड ८१ लाख ५१ हजार ८४० रुपैयाँ मूल्य बराबरको १ हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा ८ करोड ७२ लाख ७ हजार ९९९ रुपैयाँ मूल्य बराबरको एक हजार ११५ आयात भएको थियो ।
तथ्यांकले ई-रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/७९ मा १३ करोड ९८ लाख १७ हजार १५० रुपैयाँ मूल्य बराबरको १ हजार ५१३ वटा ई-रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
विगत ५ वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।
बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई-रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै विगत ५ वर्षमा २ करोड ४० लाख १३ हजार २४७ रुपैयाँ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।
मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरूले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र बापत ५०० र मूल्य अभिवृद्धि करबापत ६५ रुपैयाँ मात्र महसुल बुझाउनु पर्दछ ।रासस