जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ३७७ वटा उद्योग बन्द भएका छन् ।
गत आवमा वाणिज्यतर्फ २५९ तथा उद्योगतर्फ ११८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए। उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिब ९ हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ १ हजार १२ उद्योग दर्ता, २ हजार ५९ उद्योग नवीकरण, पूजीवृद्धितर्फ १६४, नामसारीतर्फ १९, ठाउँसारीतर्फ २४, शाखा थप १३, प्रतिलिपी २२५, नामपरिर्वतन ६९ तथा आयात एवम् निर्याततर्फ ५४ व्यवसाय रहेका छन् ।
त्यसैगरी उद्योगतर्फ नयाँ दर्ता ८०५, नविकरणतर्फ ९७८, पूजीवृद्धितर्फ ५९, नामसारी ५६, ठाउँसारी ५, प्रतिलिपीतर्फ १०६, फर्मको नाम परिर्वतन ४३ तथा उद्देश्य थप १२ वटा रहेको सो कार्यालयले जनाएको छ ।
सोही आर्थिक वर्षमा कार्यालयले उद्योग दर्ता तथा नविकरण बापत रु ५७ लाख २३ हजार राजस्व सङ्कलन गरेको प्रमुख यादवले बताए । गत आर्थिक वर्षमा उद्योग तथा पसल बन्द हुँदा जनकपुरका विभिन्न स्थानका करीब एक सय सटर बन्द भएको तथा उद्योगी व्यवसायी पलायन भएका थिए ।
हाल धनुषामा साना उद्योग ५३६, लघु उद्योग ५५१ तथा घरेलु उद्योग एक हजार ५८ सञ्चालनमा रहेका छन् । ती उद्योमा महिला र पुरुष गरी करिब ७ हजार कामदार प्रत्यक्षरुपमा लाभान्वित हँदैआएका कार्यालय प्रमुख यादवले बताए । रासस