काठमाडौं । नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ ।
परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिक सार्वजनिक गर्दै यस वर्षको पहिलो एवं विशेष कार्यक्रम बुधबार आयोजना गरेको हो ।
सो कार्यक्रम नेपाल सरकारका मुख्यसचिव लीलादेवी गडतौलाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक एवं उच्च सरकारी अधिकार, उद्योगी व्यवसाय, संचारकर्मीहरुको सहभागिता आयोजना गरिएको हो ।
मुख्यसचिव गडतौलाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले बजेट वाच पहलमार्फत परिसंघले सरकार एवं निकायहरुलाई सहयोग गरेको भन्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अन्य आर्थिक वर्षको तुलनामा प्रभावकारी हुने बताइन् । उनले अर्थतन्त्रसँग सम्बन्धित अन्य विषय छुटेको भन्दै त्यस्ता विषयहरुलाई समेत समावेश गर्न सुझाव दिइन् ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजेटको सफल कार्यान्वयनबाट नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अति आवश्यक रहेको बताए ।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा ‘सीएनआई बजेट वाच’ पहल संचालन गरिरहेको बताए ।