काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । बुधबार २ अंकले बढेको नेप्से आज ६ अंकले बढेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोड रुपैयाँले बढेर १९ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा पुगेको छ । आज ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ भने ७ समूहको बढेको छ । आज विकास बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस समूहको परिसूचक सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ भने व्यापार समूहको १.५५ प्रतिशतले घटेको छ ।
आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १३२ कम्पनीको मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, नारायणी विकास बैंक, ज्याति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज बोटलर्स नेपालका सेयरधनीले सर्वाधिक ३.९२ प्रतिशत गुमाएका छन् ।