काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूको खुद नाफामा उल्लेख्य सुधार आएको छ । होटलहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ३०.६८ प्रतिशतले बढेको हो ।
होटल तथा पर्यटन समूहमा सूचीकृत ६ वटा कम्पनीले गत असार मसान्तसम्म कुल १ अर्ब २८ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आव २०७९/८० को तुलनामा ३० करोड २१ लाख रुपैयाँ धेरै हो । अघिल्लो आवमा यी होटलले कुल ९८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
समीक्षा अवधिका होटलहरूको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको हो । कोरोनापछि सुस्त रहेको पर्यटकीय गतिविधि गत वर्ष चलायमान हुँदा होटलहरूको आम्दानी उल्लेख्य रुपमा बढेको हो ।
गत सन् २०२३ मा १० लाख बढी विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को ७ महिनामा पनि ५ लाख बढी पर्यटक नेपा भित्रिएका छन् । साथै, आन्तरिक पर्यटकीय गतिविधमा पनि उल्लेख्य सुधार आएको छ । जसकारण होटलहरूको आम्दानी बढ्न गई नाफामा वृद्धि भएको हो ।
कोभिड अवधिमा पर्यटन व्यवसाय र भौतिक कार्यक्रम ठप्प हुँदा होटलको व्यवसाय पनि धरासाय भएको थियो । कतिपय ठूला होटलहरू खर्च धान्न नसकेर बन्द समेत भएका थिए । तर, गत वर्षदेखि पर्यटन क्षेत्र लयमा फर्किँदा होटल व्यवसाय फस्टाएको हो ।
आर्थिक संकुचनका कारण बैंक तथा वित्तीय संस्था, उत्पादनमूलक उद्योगहरू प्रभावित हुँदा पनि होटल व्यवसाय भने गुल्जार बनेको छ ।
कुन होटलले कति कमाए ?
गत वर्ष सूचीकृत ६ वटामध्ये ५ वटा होटल नाफामा सुधार आएको छ भने घटेको छ । समीक्षा अवधिमा ओरेन्टल बाहेक सबै होटलको नाफामा वृद्धि भएको छ । गत वर्ष सिटी बाहेक अरु सबै होटल नाफामा छन् ।

गत वर्ष सोल्टी होटलले सबैभन्दा धेरै नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा ८.३१ प्रतिशत नाफा बढाउन सफल भएको सोल्टीले सर्वाधिक ६० करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ५५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलले ५१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यसले अघिल्लो वर्षको तुलनामा खुद नाफा २८.१८ प्रतिशतले बढाएको छ ।
गत वर्ष चन्द्रागिरि हिल्सले सबैभन्दा धेरै ९९.३९ प्रतिशतले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष ११ करोड २० लाख नाफा कमाएको चन्द्रागिरिले गत वर्ष दोब्बरले बढाउँदै २२ करोड ३८ लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष ओरेन्टल होटलको मात्र नाफा घटेको छ । अघिल्लो वर्ष १६ करोड कमाएको ओरेन्टलको नाफा २३.९९ प्रतिशतले घटेर १२ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।
चुक्ता पूँजीका आधारमा सबैभन्दा सानो रहेको कालिञ्चोक दर्शनको नाफा ७.७५ प्रतिशतले बढेर २ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा सिटी होटल भने २० करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा यसको नोक्सानी ७ करोडले घटेको छ । अघिल्लो वर्ष सिटी २७ करोड २२ लाख रुपैयाँ घाटामा थियो ।