भारत निर्यात ४५ प्रतिशतले बढ्दा व्यापार घाटा ९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ ।

 

यस अवधिमा कूल वस्तु निर्यात २३.०९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५.०६ प्रतिशतले वृद्धि भएको छ ।

 

चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले निर्यातमा कमी आएको हो ।

 

भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

 

राष्ट्र बैंकको आव २०७६/७७ का चार महिनाको वित्तीय स्थितिअनुसार कूल वस्तु आयात ६.९ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५.०८ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १०.०९ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२.०८ प्रतिशतले बढेको छ ।

 

आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ ।

 

त्यसैगरी आव २०७६/७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.०८ प्रतिशतले वृद्धि भएको थियो ।

उपत्यकामा बन्ने नयाँ सहरमा यस्तो छ जग्गाको मूल्य Read Previous

उपत्यकामा बन्ने नयाँ सहरमा यस्तो छ जग्गाको मूल्य

कुमारी बैंकले पुस १४ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्ने Read Next

कुमारी बैंकले पुस १४ गतेदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्ने