उपत्यकामा बन्ने नयाँ सहरमा यस्तो छ जग्गाको मूल्य

काठमाडौं । सरकारले उपत्यकामा ४ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरेको छ । त्यसका लागि ३ वटा नयाँ सहरको डीपीआर समेत तयार भइसकेको छ । केही समयदेखि सुस्त रहेको उपत्यकामा घरजग्गाको कारोबार बढ्न थालेसँगै मूल्यले चर्चा पाउन थालेको छ ।

 

सरकारले १ लाख रोपनीको एउटा र १०/१० हजार रोपनीका ३ वटा नयाँ सहर निर्माण गर्ने तयारी गरेको हो ।

 

‘रियल स्टेट एण्ड रिसर्च सेन्टर’का प्रमुख बजार अधिकृत किशोर खरेलले पछिल्लो समय स्मार्ट सिटी निर्माणकै कारण भक्तपुर सूर्यविनायक तिर जग्गाको मूल्य प्रतिआना ४० लाख रुपैयाँसम्म पुगेको बताए ।

 

नेपालमा कुनै पनि स्थानमा एक पटक ह्वातै जग्गाको मूल्य बढ्ने, केही समयलाई स्थिर हुने, अनी फेरी ‘यस्तो हुने रे !’ भनेपछि बढ्ने गरेको उनले बताए ।

 

उनका अनुसार भक्तपुरका मुख्य सडक भएका स्थानमा ४० देखि ४५ लाख रुपैयाँ आनाका जग्गाहरु किनबेच भइरहेका छन् ।
सूर्यविनायक मन्दिर वरिपरी समेत जग्गाको मूल्य प्रतिआना ३० लाख रुपैयाँ पुगेको उनले बताए ।

 

‘भक्तपुर सूर्यविनायक क्षेत्रमा कुना तथा भिर तिर प्लटिङ गरेर राखेको ठाउँमा ५ लाख देखि १० लाख रुपैयाँ आनासम्ममा विक्री भइरहेको छ । अलि सडक भएका ठाउँ र नयाँ सहर भनेका ठाउँमा मूल्य धेरै बढेका हुन्,’ खरेलले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार नेपालमा एकैपटकमा २ सय देखि ३ सय प्रतिशतले जग्गाको मूल्य बढ्ने गरेको छ । विदेशमा जग्गाको मूल्य बजारको महंगीको अनुपातमा बढ्ने गरे पनि नेपालमा एकै पटक १ सय प्रतिशत भन्दा बढिले जग्गाको मूल्य बढ्ने गरेको उनले बताए ।

 

नेपालमा कुनै पनि स्थानमा एक पटक ह्वातै जग्गाको मूल्य बढ्ने, केही समयलाई स्थिर हुने, अनी फेरी ‘यस्तो हुने रे !’ भनेपछि बढ्ने गरेको उनले बताए ।

 

उनले भक्तपुर भाटभटिनी भएतिर ५० लाख रुपैयाँ आनामा जग्गा विक्री हुने गरेको बताए । प्लानिङ भएका कुनै ठाउँमा १० लाख आनाका जग्गा पनि छन् । तर, त्यहाँ भिर वा खोला हुन्छन् ।

 

यस्तै साँखुमा अहिले प्लानिङ भएको ठाउँमा मारामार विक्री भइरहेको उनले बताए । सो स्थानमा ठूलो बाटो भएको ठाउँमा २० लाख रुपैयाँ प्रति आनामा जग्गा विक्री भइरहेको उनले जानकारी दिए ।

 

साँखु बजार क्षेत्रमा २५ लाख रुपैयाँ आनामा पनि जग्गा नपाइने भइसकेको छ । साँखुका भित्री क्षेत्रमा भने ५ लाख रुपैयाँ आनाका जग्गा पनि उपलब्ध छन् ।

 

सामाखुसी टोखातिर अहिले खासै जग्गा किन्ने चहलपहल नभएको उनले बताए । केही समयअघि मूल्य ह्वातै बढेको भए पनि अहिले सुनसान भएको त्यहाँका स्थानियहरु पनि बताउँछन् ।

 

‘टोखा, झोर तिर जग्गा किन्ने भनेको नुवाकोटका बासिन्दाले हो, केही समय लहर बढेको थियो अहिले त्यस्तो माहौल छैन,’ खरेलले भने ।

 

कहाँ बन्दैछन् उपत्यकामा सहर

 

उपत्यकामा बन्ने भनिएको सबैभन्दा ठूला नयाँ सहर ‘इशान’ हो । काठमाडौंको पूर्वोत्तर क्षेत्रमा पर्ने यो सहरको डिपिआर तयार भइसकेको छ । एक लाख रोपनीमा फैलिएको उक्त नयाँ सहरमा भौतिक पूर्वाधार निर्माण सँगै सुविधा सम्पन्न व्यवस्था गरिने योजना रहेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 

उक्त नयाँ सहर भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।

 

उत्तरतर्फ साँखु बजार र साँखु जाने मूल सडकसम्म फैलिएको उक्त नयाँ सहरले भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठानसम्म छुने छ ।
दोस्रोमा १० हजार रोपनीको ‘आग्नेय’ नयाँ सहर बन्ने छ । यो सहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वन क्षेत्रलाई समेट्ने छ । पश्चिममा खहरे खोला, बालकोट, पानी ट्यांकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सम्म छुनेछ ।

 

आग्नेय नयाँ सहरको दक्षिण तर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार हुँदै खहरेसम्म हुनेछ ।
तेस्रोमा १० हजार रोपनीमा फैलिएको ‘नैऋत्य’ सहर रहेको छ । ललितपुरको पूर्वतर्फ खोकना बुङमति भएर छम्पी जाने बाटो तथा तत्कालीन वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ । सो सहरको पश्चिम र दक्षिण तर्फ वागमती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको स्वयम्भुसम्म नयाँ सहर फैलने छ ।

 

चौथोमा १० हजार रोपनीकै काठमाडौंंको उत्तरतर्फ नयाँ सहर फैलिनेछ । उक्त नयाँ सहरको पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा तोकिएको छ ।

 

पश्चिमतर्फ काभ्रेस्थली देखि बाइपास आउने मूल सडकसम्म उक्त सहर फैलिनेछ । उत्तरमा सपनातीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म सहर फैलिनेछ । दक्षिणमा ग्रिननल्यान्ड चोकदेखि महादेव खोला काभ्रेस्थली मूल सडकलाई छुनेछ ।

स्टार्टअप एण्ड इन्नोभेसन मेलामा रोबोटको फुटवलदेखि सेटेलाइटसम्म Read Previous

स्टार्टअप एण्ड इन्नोभेसन मेलामा रोबोटको फुटवलदेखि सेटेलाइटसम्म

भारत निर्यात ४५ प्रतिशतले बढ्दा व्यापार घाटा ९ प्रतिशतले घट्यो Read Next

भारत निर्यात ४५ प्रतिशतले बढ्दा व्यापार घाटा ९ प्रतिशतले घट्यो