काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५६.६७ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म इन्स्योरेन्सले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को ३७ करोड ३७ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क, खुद आम्दानी र लगानी तथा कर्जा आय बढ्दा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी ८९.६३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको यस अवधिमा लगानी तथा कर्जा आयबाट हुने आम्दानी १६२.६७ प्रतिशतले बढेर ५७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६४.१२ प्रतिशतले बढेर ७४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब २ करोड चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ संचित छ । त्यस्तै, महाविपत्ती कोषमा ८ करोड १२ लाख, रिटेन्ड अर्निङमा ३४ करोड ६२ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ छ ।