खस्किँदै नेपाल पुनर्बीमा कम्पनी, अधिकांश सूचकमा गिरावट

काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको वित्तीय अवस्था खस्किँदै गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा शुल्क संकलन, आम्दानी, नाफा, प्रतिसेयर आम्दानी लगायत अधिकांश मुख्य सूचकमा गिरावट आएको छ ।

निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सले आक्रमक रुपमा व्यवसाय विस्तार गरिरहँदा नेपाल पुनर्बीमा भने झन्झन् खुम्चिँदै गएको तथ्यांकले देखाएको छ ।

गत आवमा नेपाल पुनर्बीमाको खुद नाफा १३.४९ प्रतिशतले घटेको छ । कम्पनीले गत असार मसान्तसम्म ५१ करोड ५८ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ८ करोड ४ लाख रुपैयाँ कम हो । अघिल्लो वर्ष कम्पनीले कुल ५९ करोड ६२ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलनसँगै कुल आम्दानीमा पनि गिरावट आउँदा नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ८.५७ प्रतिशतले घटेर ५ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी पनि ९.३० प्रतिशतले घटेर ६ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीले खर्च घटाउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको कुल खर्च ६ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा गत वर्ष ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोडमा सीमित भएको छ ।

हाल १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ संचिति छ । कम्पनीको महाविपत्ति कोषमा २७ करोड ६३ लाख र रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ ।

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण Read Previous

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५७% बढ्यो, ईपीएस कति ? Read Next

आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५७% बढ्यो, ईपीएस कति ?