काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४ बैंकले लाभांश दिन नसक्ने भएका छन् । बैंकहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ बैंककाे वितरणयोग्य नाफा ऋणात्मक भएको हो ।
प्रकाशित विवरण अनुसार एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी र हिमालयन बैंकको वितरण योग्य नाफा ऋणात्मक भएकाले सेयरधनीलाई लाभांश दिन नसक्ने भएका हुन् ।
हिमालयन, कुमारी र इन्भेष्टमेन्ट मेगाले अघिल्लो आवको तुलनामा खुद नाफा बढाए पनि वितरणयोग्य नाफा ऋणात्मक भएको छ । एनआइसी एशियाको भने नाफामा भारी गिरावट आएको छ ।
असार मसान्तसम्म हिमालयनको वितरणयोग्य नाफा ५ अर्ब ७८ करोड रुपैयाँ ऋणात्मक छ । त्यस्तै, कुमारीको ३ अर्ब ७८ करोड, इन्भेष्टमेन्टको ३ अर्ब ४३ करोड र एनआइसीको २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक छ ।
गत वर्ष कुल ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरूको कुल वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै छ । यसबाट बैंकहरूले औसतमा ८.८३ प्रतिशत लाभांश दिन सक्छन् ।
सर्वाधिक लाभांश क्षमता एभरेष्टको
गत वर्ष २० वाणिज्य बैंक मध्ये एभरेष्टको लाभांश क्षमता सबैभन्दा धेरै रहेको छ । एभरेष्टको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ । यसबाट सेयरधनीलाई २९.८३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।
यस्तै, गत वर्षको नाफाबाट एभरेष्टसहित ५ बैंकले मात्र १० प्रतिशत माथि लाभांश् बाँड्न सक्छन् । जसमा स्ट्याण्डर्ड चार्टर्डले २६.५० प्रतिशत, नबिल १४.२६ प्रतिशत, नेपाल एसबीआइ १०.७६ प्रतिशत र सानिमाको १०.४० प्रतिशत लाभांश क्षमता छ ।
त्यसैगरी, ५ बैंकको ५ प्रतिशतदेखि १० प्रतिशतको बीचमा लाभांश दिन सक्ने क्षमता छ । जसका कृषि विकास ८.१३ प्रतिशत, प्राइम ६.१८ प्रतिशत, लक्ष्मी सनराइन ५.५५ प्रतिशत, नेपाल ५.२४ प्रतिशत र प्रभुले ५.२ प्रतिशत लाभांश दिन सक्छ ।
६ बैंकको लाभांश क्षमता ५ प्रतिशतभन्दा कम रहेको छ । सिटिजन्स ४.३४ प्रतिशत, माछापुच्छ्रे, ४.०१ प्रतिशत, ग्लोबल आइएमई ३.०६ प्रतिशत, सिद्धार्थ २.६० प्रतिशत र एनएमबीको १.३० प्रतिशत रहेको छ ।