‘चेक बाउन्स’ हुँदा मंसिरसम्म मात्रै कालोसूचीमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर (बाउन्स) भएमा आगामी मंसिर मसान्तसम्म मात्रै कालोसूचीमा नपर्ने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति जारी गर्दै चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज नहुने घोषणा गरेको थियो । उक्त छुट आगामी मंसिरसम्म मात्रै लागू हुने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

‘यस निर्देशनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश गरिने छैन,’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।

चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा पर्ने व्यवस्थाले निर्माण व्यवसायी समस्यामा परेको भन्दै राष्ट्र बैंकले मंसिरसम्म सहजीकरण गरिदिएको हो । यद्यपि, अन्य व्यवसायीका हकमा भने चेक बाउन्स सम्बन्धी हालकै व्यवस्था लागू हुनेछ ।

बैंकिङ कसुर तथा अपराध ऐन, २०६४ तथा एकीकृत निर्देशन २०८० अनुसार दुई वा दुईभन्दा बढी पटक चेक बाउन्स भएमा वा गरिएमा उजुरीका आधारमा चेक जारी गर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने तथा थप कारबाही गर्ने व्यवस्था छ ।

नेप्सेमा करेक्सन, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा करेक्सन, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

पर्यटन क्षेत्रमा अफ सिजन, जुलाइमा आए यस वर्षकै कम पर्यटक Read Next

पर्यटन क्षेत्रमा अफ सिजन, जुलाइमा आए यस वर्षकै कम पर्यटक