काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन आएको छ । अघिल्ला दुई कारोबार दिनमै १०० अंकले बढेको नेप्सेमा आज ५ अंकको गिरावट आएको हो ।
बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकमा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार २० करोड रुपैयाँले घटेर २१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार इतिहासकै सर्वाधिक २१ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
कारोबारमा आएका १३ वटै समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूहको परिसूचक २.७४ प्रतिशतले बढेको छ ।
आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ५९ करोड ७५ लाख रुपैयाँ बढीको ७ लाख ७३ हजार ९४२ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको इनर्जीको ४३ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका मध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभम पावर, सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
आज पिपुल्स हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.१३ प्रतिशत गुमाएका छन् ।