काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी विदेश भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले विभिन्न सहकारीको रकम अपचलन गरी विदेशमा रहेको व्यक्तिहरूलाई तत्काल पक्राउ गरी स्वदेश फर्काउन निर्देशन दिएको हो ।
समितिले तत्काल स्वदेश फर्काउनुपर्ने व्यक्तिहरूको नाम गृहमन्त्री रमेश लेखलाई समेत दिएको छ । ती व्यक्तिहरूलाई स्वदेश ल्याएर सोधपुछ नगरी निष्कर्षमा पुग्न नसकिने समितिको भनाइ छ ।
समितिले सूर्यदर्शन, सहारा, सुप्रिम लगायत सहकारी ठगीमा संलग्न जीबी राई, ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन, अश्रफ अली र सुवास केसीलाई तत्काल झिकाउन भनिएको छ ।
यस्तै, सुमेरु सहकारी ठगीमा संलग्न भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
त्यसैगरी, शिवशिखरका तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन समितिले गृहमन्त्रीलाई निर्देशन दिएको छ ।