काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
बैंक संचालक समितिको साउन १० गते बसेको बैठकले २०८१ भदौ १ गतेदेखि लागू हुने गरी रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रेग्मी हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका थिए । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङको सुपरीवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।।
यस्तै, बैठकले स्वतन्त्र संचालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।