काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्र क्रमशः चलायमान हुँदै गएको बताए पनि बजारमा उपभोग्य वस्तुको माग भने बढ्न नसकेको पाइएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्यांकले आर्थिक शिथिलता कायमै रहेको देखाएको हो ।
विभागका अनुसार गत आवमा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.१६ प्रतिशत अर्थात् १८ अर्ब ७५ करोड रुपैयाँ कम हो । आव २०७९/८० मा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बढीको सामान आयात भएको थियो ।
गत आवमा आर्थिक शिथिलताका कारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको खपत घट्दा समग्रमा आयात घटेको छ ।
जेठको तुलनामा असारमा मात्रै आयात ११ अर्ब रुपैयाँ घटेको छ । जेठमा गत वर्षकै धेरै १ खर्ब ५० अर्बको वस्तु आयात भएकोमा असारमा १ खर्ब ३९ अर्बमा झरेको छ ।
गत वर्षमा मासिक औसतमा १ खर्ब ३२ अर्ब ६६ करोड रुपैयाँको विदेशी वस्तु आयात भएको छ । जसमा जेठमा सबैभन्दा धेरै डेढ खर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
त्यस्तै, साउनमा १ खर्ब २९ अर्ब, भदौ १ खर्ब ३० अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब, पुसमा १ खर्ब २६ अर्ब, माघमा १ खर्ब २९ अर्ब, फागुनमा १ खर्ब ३३ अर्ब, चैतमा १ खर्ब ३७ अर्ब र वैशाखमा १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
गत वर्ष सरकारले आयातबापत लाग्ने भन्सार दस्तुरबाट सरकारले ४ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
डेढ खर्बको निर्यात
गत आवमा निर्यातमा पनि गिरावट आएको छ । अघिल्लो आवका तुलनामा गत आवमा नेपालबाट हुने निर्यात ३.०३ प्रतिशतले घटेको छ ।
विभागका अनुसार गतमा कुल १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ सामान विदेशिएको छ । अघिल्लो आवमा १ खर्ब ५७ अर्ब रुपैयाँ बढीको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा निर्यात ५ अर्बले घटेको हो । गत वर्ष मासिक औसतमा १२ अर्ब ६६ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
व्यापार घाटामा सुधार
आयात घटेसँगै गत वर्ष व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा ०.९६ प्रतिशतले घटेको छ । आव २०७९/८० मा कुल १४ खर्ब ५४ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा गत आवमा १४ खर्ब ४० अर्बमा सीमित रहेको छ । १ वर्षको अवधिमा व्यापार घाटा १४ अर्ब रुपैयाँले घटेको छ ।
गत आवमा कुल १७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको १.३३ प्रतिशतले कम हो ।