काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा सामान्य गिरावट आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५.९८ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ८ करोड ४७ लाख रुपैयाँ कम हो। अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै बैंकको खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोडमा झरेको छ ।
हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ९५ करोड संचित छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले ३.२७ प्रतिशत लाभांश दिन सक्छ ।
समीक्षा अवधिमा बैंकले ८२ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको निक्षेप ६.९३ प्रतिशत घटेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.५५ रुपैयाँबाट घटेर ६.१६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११३.७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा छ ।