चुनावी दौडबाट बाहिरिए अमेरिकी राष्ट्रपति बाइडेन, ह्यारिसलाई अघि सारे

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्।

उनले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन्।

हाल ८१ वर्षका बाइडेनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतबार राती आफ्नो ‘पार्टी र देशको हितका लागि’ आफूले पुनः राष्ट्रपति बन्ने योजना त्याग गरेको बताएका छन्।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्र्याटहरूबाटै उनको आलोचना भएको थियो।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन्। हाल ५९ वर्षकी ह्यारिसले आफूले ट्रम्प विरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताइन्।

‘निर्वाचनका लागि हामीसँग १०७ दिन बाँकी छ,’ उनले भनेकी छन्, ‘हामी सँगै लड्छौँ र सँगसँगै जित्छौँ पनि।’

पार्टीका महत्त्वपूर्ण व्यक्तित्वहरूले उनको मनोनयनलाई स्वीकार गरे पनि पार्टीबाट भने उनी आधिकारिक रूपमा उम्मेदवार बनिसकेकी छैनन्। अगस्टमा हुने डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गरिने कार्यतालिका छ। -बीबीसी

निफ्राको खुद नाफा १ अर्ब ३३ करोड, लाभांश क्षमता कति ? Read Previous

निफ्राको खुद नाफा १ अर्ब ३३ करोड, लाभांश क्षमता कति ?

सेयर बजारबाट सरकारको आम्दानी झण्डै दोब्बरले बढ्यो Read Next

सेयर बजारबाट सरकारको आम्दानी झण्डै दोब्बरले बढ्यो