सेयर बजारबाट सरकारको आम्दानी झण्डै दोब्बरले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा सेयर बजारबाट हुने सरकारको आम्दानी झण्डै दोब्बरले बढेको छ । गत वर्ष नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दा सेयर बजारबाट प्राप्त हुने पूँजीगत लाभकर ८५.१८ प्रतिशतले बढेको हो ।

सीडीएस एण्ड क्लियरिङका अनुसार गत आव २०८०/८१ मा सरकारले सेयर कारोबारबापत कुल ५ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर पाएको छ । यो अघिल्लो आवको तुलनामा २ अर्ब ५३ करोड रुपैयाँ धेरै हो । आव २०७९/८० मा सरकाले सेयर बजारबाट २ अर्ब ९७ करोड रुपैयाँ पूँजीगत लाभकर पाएको थियो ।

गत वर्ष नेप्से समग्रमा १४३ अंकले बढेको थियो । यद्यपि, असारको अन्तिम दुई सातामा मात्रै २०० अंकले बढेको थियो । सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि फाइदा भएको हो । लगानीकर्ताले कमाउने नाफा बढेसँगै सरकारले पाउने राजश्व पनि बढेको हो ।

गत वर्ष नेप्से न्यूनतम १८३८ बिन्दुसम्म झरेको थियो । सो बेला सेयर किनेका लगानीकर्ताले नेप्से २२०० माथिको बिन्दुमा बेच्दा नाफा कमाएको देखिन्छ । लगानीकर्ताको नाफा बढ्दा सरकारलाई पनि फाइदा पुगेको हो ।

लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट सर्वाधिक १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको थियो ।

गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेका थिए । त्यस यता नेप्से परिसूचक लगातार बढिरहेको छ । असारको अन्तिम दुई सातामा मात्रै नेप्से झण्डै २०० अंकले बढेको थियो भने झण्डै आधा खर्बको सेयर किनबेच भएको थियो ।

२०७८ भदौमा कीर्तिमानी ३१९८ बिन्दुबाट झरेको नेप्से त्यसयता बियरिस ट्रेन्डमा रहेको थियो । झण्डै ३ वर्षको वियरिस ट्रेन्डपछि अहिले नेप्सेले लय समात्ने संकेत देखिएको छ । घट्दो ब्याजदर, अधिक तरलताका साथै राजनीतिक स्थिरताले नेप्से बढ्ने लगानीकर्ताको अपेक्षा छ ।

अहिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् । उनको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ट्युनिङ मिल्ने भएकाले चालु आवको मौद्रिक नीति खुकुलो आउने चर्चा भइरहेको छ ।

चुनावी दौडबाट बाहिरिए अमेरिकी राष्ट्रपति बाइडेन, ह्यारिसलाई अघि सारे Read Previous

चुनावी दौडबाट बाहिरिए अमेरिकी राष्ट्रपति बाइडेन, ह्यारिसलाई अघि सारे

नेपाल लाइफले गर्यो शिक्षामा १.३३ अर्ब लगानी, किन्यो दुई कलेजको सेयर Read Next

नेपाल लाइफले गर्यो शिक्षामा १.३३ अर्ब लगानी, किन्यो दुई कलेजको सेयर