एजेन्सी । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कले आफ्ना दुई ठूला कम्पनी अमेरिकाको क्यालिफोर्नियाबाट टेक्सास सार्ने घोषणा गरेका छन् ।
मस्कले सामाजिक सञ्जाल एक्स (पूर्व ट्वीटर) र रकेट निर्माता स्पेस एक्सको मुख्यालय क्यालिफोर्नियाबाट टेक्सासमा सार्ने घोषणा गरेका हुन् ।
मस्कले स्पेस एक्सको मुख्यालय हथर्न, क्यालिफोर्नियाबाट आफ्नो स्टारबेसको टेक्सासमा रहेको परिसरमा सार्ने बताएका छन्। त्यस्तै, सानफ्रान्सिस्कोमा रहेको एक्सको मुख्यालय भने अस्टिनमा सार्ने बताएका छन् ।
उनले राजनीतिक कारण देखाउँदै ती कम्पनीको मुख्यालय सार्ने घोषणा गरेका हुन् । आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेको मस्कले रिपब्लिकनकै सरकार रहेको टेक्सासमा दुई कम्पनी सार्न लागेका हुन् । हाल क्यालिफोर्नियामा डेमोक्रेटिक पार्टीको सरकार छ ।
क्यालिफोर्नियाको डेमोक्रेटिक सरकारले हौसिएर हस्तक्षेप गर्ने आरोप लगाउँदै आएका मस्कको उक्त राज्यसँगको सम्बन्धमा लामो समयदेखि उतारचढाव हुँदै आएको छ ।
राजनीतिसँगै आर्थिक रुपमा पनि टेक्सासमा कार्यालय सार्दा मस्कलाई फाइदा हुने देखिन्छ । टेक्सास राज्यले आय कर र पूँजीगत लाभ कर नलगाउने भएकाले धेरै कमाउने मस्क र उनका वरिष्ठ कर्मचारीहरू जस्ताका लागि क्यालिफोर्निया भन्दा टेक्सास आकर्षक छ ।
कोरोना महामारीका बेलामा लकडाउन गरेको भन्दै उनले आफ्नो बिजुली कार उत्पादक कम्पनी टेस्लाको मुख्यालय सन् २०२० मा क्यालिफोर्नियाको प्यालो अल्टोबाट अस्टिनमा सारेका थिए।