काठमाडौं । ३ वर्ष यता वियरिस ट्रेन्डमा रहेको नेप्से असार दोस्रो साता यता लगातार उकालो लागिरहेको छ । सत्ता समीकरण फेरिएसँगै नेप्सले तीव्र गतिमा छलाङ हानिरहेको छ । पछिलो दुई सातामा नेप्सेले ४०० अंकले बढिसकेको छ ।
सूचकमा उछाल आएसँगै कारोबार रकममा पनि उछाल आएको छ । र एकैदिन नेप्सेले ७० अंकको छलाङ हानेको थियो भने ९ करोड बढीको सेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार नेप्से ५४ अंकले बढ्दा १२ अर्ब बढीको कारोबार भएको थियो । बिहीबार पौने २ घण्टामै पौने ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको ।
नेप्सेमा अनुसार दिउँसो १२:४५ बजेसम्म नेप्से परिसूचक ९३ अबंकले बढेर २४५३ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ अर्ब ७३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । खरिदकर्ता आक्रमक बनेका छन् । आज पौने १ बजेसम्म कारोबार भएको आधारमा प्रतिमिनेट औसतमा ७ करोड २७ लाख रुपैयाँको कारोबार भइरहेको छ ।
गत असार १७ गते संसदमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेका थिए । नयाँ सरकारको अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएसँगै लगानीकर्ता हौसिएर धमाधम सेयर किन्न थालेका हुन् ।
पौडेल सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिन्छन् । यसअघि दुईपटक नेप्सेले अल टाइम हाइको रेकर्ड बनाउँदा पौडल नै अर्थमन्त्री थिए । पौडेलको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग ट्युनिङ मिल्ने भएकाले चालु आवको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको सीमा हटाउने हल्ला चलेको छ ।
कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।
सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति आउने अनुमान र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।