काठमाडौं । चीनले विगत ३ महिनादेखि रसुवा नाका हुँदै नेपालबाट निर्यात हुने खाद्यन्न सामग्रीमा रोक लगाएको छ। चीनले नेपालबाट निर्यात हुने सामग्रीमा चाइनिज भाषामा लेवल राख्न अनिवार्य गरेपछि निर्यात हुन नसकेको हो ।
चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ ।
दैनिक ७ ट्रकसम्म सामान निर्यात हुनेमा पछिल्लो समय २ देखि ३ ट्रक मात्र सामान निर्यात भइरहेको रसुवा भन्सार विभागका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय निर्यात भइरहेका सामानमा कार्पेट, भाँडाकुँडा लगायतका सामग्री मात्र निर्यात भइरहेका छन् ।उनले विशेष गरी खाद्य उपभोग्य सामग्री निर्यात हुन नसकेको बताए ।
‘पहिले दैनिक ५÷७ ट्रकहरु सामान लिएर चीन जान्थे अहिले, दैनिक २/३ वटा भन्दा बढी सामान जान सकेको छैन, त्यसमा पनि कार्पेट र भाँडाकुँडा मात्र निर्यात भएका छन्,’ खड्काले चाणक्य पोष्टसँग भने ।
चीनले आफ्नो स्थानीय जनताले उपभोग गर्ने सामानको प्रयोग अन्तिम मिति, त्यसमा भएका सामग्री र उत्पादनका विषयमा जानकारी नपाएको भन्दै यस्तो गरेको उनले बताए । यस्तै चीनसँग यस विषयमा छलफल भइरहेको र आउँदो २०२० को जनवरीदेखि माथिल्लो तहबाट खुल्ला गर्न निर्देशन आएमात्रै निर्यात खुल्न सक्ने उनले जानकारी दिए ।
चीनमा धेरै जसो मानिसहरु अंग्रेजी भाषा नजान्ने हुँदा उनीहरुकै भाषामा लेवल राखेर पठाउन उनीहरुले माग गरेका हुन् ।‘उनीहरुले आफ्ना जनताले अंग्रेजी भाषामा लेखेको समेत नबुझ्ने भएपछि, चिनियाँ भाषामै लेवल अनिवार्य राखेर पठाउन माग गरेका हुन, हुन त हामी पनि अंग्रेजी भाषामा लेवल राखेन भने निर्यात गर्न दिँदैनौं नी,’ खड्काले भने ।
चीनले अंग्रेजी भाषामा लेवल भएका बिस्कुट, चकलेट, ब्रेडका परिकार, मसला, कुखुराको तारेको मासु तथा माछाका परिकारहरु निर्यातका लागि भन्सार पास नदिएको हो ।
चीनतर्फ निर्यात हुन नसकेपछि यो वर्ष व्यापार घाटा झन बढ्न सक्ने देखिन्छ । कतिपय वस्तुहरु निर्यातकै लागि मात्र बन्ने हुँदा त्यस्ता सामान निर्यात नहुँदा व्यवसायीहरुलाई समेत समस्या हुने उनले बताए ।