पछिल्लो समय नेपालमा स्मार्ट सिटीको चर्चा बढ्दै गएको छ । सरकारले व्यवस्थित सहर निमार्णको लागि विभिन्न योजना तथा कार्यक्रम अगाडि सारेको छ । देशकै सबैभन्दा ठूलो सहरको रुपमा रहेको काठमाडौं सहर अस्तव्यस्त छ । सरकारले यसलाई व्यवस्थित बनाउने कुनै ठोस योजना ल्याएको छैन् । जसले गर्दा देशकै केन्द्रीय राजधानी भद्रगोल सहरको रुपमा परिचित हुँदै गइरहेको छ ।
नयाँ बन्ने स्मार्ट सिटी र काठमाडौं सहरको विकास, व्यवस्थापनलगायतका विषयमा सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा साझा पार्टीका नेता किशोर थापासँग चाणक्य पोष्टले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
सहर के हो वा के होइन ?
जुन वस्तीमा अधिकांश मानिसहरु गैरकृषि पेशामा हुन्छन्, उनीहरु उद्योगधन्दा, व्यापार, पर्यटन वा अन्य प्रशासनिक क्षेत्रमा लागेका हुन्छन् त्यस्तो वस्तीलाई सामान्यतः सहर भनेर बुझिन्छ । त्यहाँ वस्तु र सेवा उत्पादन हुन्छ ।
ग्रामीण क्षेत्र वा गाउँमा भने कृषि तथा खनिज उत्पादन हुन्छ । सहरमा कारखाना हुन्छ, उद्योग हुन्छ जसले वस्तु उत्पादन गर्छ । र, त्यो उत्पादित वस्तु ओसारपसार यातायात सुविधा र त्यसको सञ्चालनको लागि बाटोघाटोको पनि व्यवस्था हुन्छ/हुनुपर्छ, सहरमा ।
यो सबै आर्थिक र सामाजिक प्रक्रिया सञ्चालन गर्न सञ्चारको व्यवस्था पनि राम्रो हुन्छ सहरमा । सहरमा जनघनत्व बढी हुन्छ । सानो ठाउँमा धेरै मानिसहरु बस्ने गर्छन् । त्यसैले सहरको जग्गाको मूल्य पनि बढी हुन्छ ।
सहरलाई कला-संस्कृती र सभ्यताको केन्द्रको रुपमा पनि लिइन्छ । व्यवस्थित रुपमा विकास गर्दै लैजाने हो भने सहर मानव सभ्यताको जीवन्त विम्वको स्वरुप पनि हुन सक्छ ।
काठमाडौंलाई कस्तो सहरको रूपमा लिनु हुन्छ ?
काठमाडौं सहर प्राचिन सहर हो । यसको इतिहास ३ हजार वर्ष पुरानो छ । यो सहर किँरात, लिच्छवी, मल्ल र शाहाकाल हुँदै यहाँसम्म आएको हो । यो पौराणिकता, ऐतिहासिकता र आधुनीकता मिश्रित सुन्दर अभिव्यक्ति हो ।
पछिल्लो समय यहाँको वस्ती योजनावद्ध रुपमा विस्तार भएको होइन । यहाँका नगरपालिकाहरु घरको मात्र नक्सा पास गर्छन् । तर, सहरको नक्सा पास गरिएको छैन । सहर भनेको घर मात्र हैन । सहरमा बाटोघाटो, शिक्षा, स्वाथ्य, पार्क लगायतका सबै ठाउँहरुको सु-व्यवस्थापन गरिएको हुनुपर्छ ।
ती पुराना युगका संरचनाहरु अझै पनि प्रयोगमै छन् । त्यो समयमा पाटनहरु मात्र सहरको रुपमा थिए । पछि राणाकालमा डिल्लीबजार, पुतलीसडक आदि क्षेत्र पनि सहरको रुपमा विस्तार भए ।
नेपाल एकीकरण पछि काठमाडौं सम्पूर्ण नेपालको प्रशासनिक केन्द्रमा परिणत भयो । देशकै केन्द्र भएपछि यहाँ देशभरिका मानिसहरु आउन थाले । २००७ सालको क्रान्तिपछि त झन् धेरै मानिसहरु बसाइसराइ गर्दै काठमाडौं आउन थाले ।
हरेक क्रान्ति पछि काठमाडौंको जनघनत्व ह्वातै बढ्न थालेको देखिन्छ । माओवादीले पनि दाङ वा लिवाङलाई राजधानी बनाउन सक्थे तर, उनीहरु पनि यहीँ मिसिन आए । २०४६ सालमा बहुदल आउँदा पनि सबै यहीँ मिसिन आए । २०४६ सालपछि गोंगबु, सामाखुसी, डल्लु क्षेत्रमा अव्यवस्थित वस्ती फैलियो । अनी २०६३ पछि काँडाघारी, कटुन्जे आदि क्षेत्रमा पनि त्यस्तै भयो ।
२०३६ साल अगाडि मारवाडीले काठमाडौंमा घर बनाउँदैन थिए । व्यापार गर्दै उनीहरु डेरामा बस्थे । तर, ३६ सालपछि उनीहरु यहीँ बस्न थाले । मनाङगेहरु यहीँ आएर बस्न थाले ।
काठमाडौं कहिलेदेखि सहरबाट अव्यवस्थित वस्तीमा परिणत भयो ?
काठमाडौंको मुख्य रुपमा व्यवस्थापन बिग्रन थालेको २०४६ सालदेखि हो । २०४६ साल अघि तुलनात्मक रुपमा व्यवस्थित सहरले बढ्दै गएको जनघनत्वको चाप थेग्न सकेन । राजनीतिक अस्थिरता र द्धन्द्ध पनि बढ्दै गयो । संक्रमणकालमा नीति नियमहरु बन्न सकेनन् । कानुन पालना गराउने संस्थाहरु कमजोर हुँदा भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन सकेन ।
अनी छोटो समयकै धुवाँ, धुलो, अध्याँरो सानो कोठा, ट्राफिक जाम आदि काठमाडौंका विम्व बन्न पुगे । वस्ती बढ्ने क्रम अझ जारी छ । काठमाडौंमा दैनिक न्यूनतम २ हजार ट्रिपरहरु निर्माण सामग्री लिएर भित्रिन्छन् ।
काठमाडौंभन्दा धेरै जनघनत्व भएका सहरहरु पनि व्यवस्थित नै देखिन्छन् । काठमाडौंको मात्र किन यस्तो अवस्था भयो ?
पछिल्लो समय यहाँको वस्ती योजनावद्ध रुपमा विस्तार भएको होइन । यहाँका नगरपालिकाहरु घरको मात्र नक्सा पास गर्छन् । तर, सहरको नक्सा पास गरिएको छैन । सहर भनेको घर मात्र हैन । सहरमा बाटोघाटो, शिक्षा, स्वाथ्य, पार्क लगायतका सबै ठाउँहरुको सु-व्यवस्थापन गरिएको हुनुपर्छ ।
तपाईं यो भन्दै हुनुहुन्छ की काठमाडौं सहरको नक्सा नै छैन ?
काठमाडौं लगायत नेपालका अन्य सहरहरुको विगतमा नक्साहरु बनेका थिए । तर, ती नक्साहर जनघनत्व र इट्टा बालुवाका घरले पुरिए ।
अब नयाँ बन्ने वस्तीहरुमा नक्सा बनाएर मात्र वस्ती बसाउनुपर्छ । नयाँ वस्तीहरुको योजना बनाउँदा कम्तीमा ५ प्रतिशत खाली ठाउँ छुट्याउनुपर्दछ । नेपालकै पोखरा, हेटाैंडा, धरान, महेन्द्रनगर, विरेन्द्रनगर जस्ता व्यवस्थित सहरहरुबाट सिक्न सकिन्छ । र, ऐनहरुको प्रभावकारी पालना हुनुपर्यो ।
अहिले एक थरीले पानीको मात्र नक्सा कोर्छन् । अर्काले सडकको मात्र कोर्छ । केहीले ढलको मात्र कोर्छन भने अरु घरमा केन्द्रीत छन् । तर, सहर भनेको त यी सबैको समग्रता हो नी । त्यसको भने नक्सा नै छैन ।
काठमाडौंमा बन्दै गरेका अन्य ४ वटा नयाँ सहरहरुको चाहीँँ कसरी बन्दै छन् ? तीनका चाँही नक्सा छन् ?
नयाँ बन्न लागेका सहरहरु आधुनिक स्याटलाइट सहर हो । ती सहरहरुको नक्सा बन्दै छन् । त्यो नक्सा अनुसारै सहर बनायौँ भने नयाँ बन्न लागेका सहरहरु व्यवस्थित हुन्छन् । यी नुमनाको रुपमा बनाइन लागेका सहरहरु हुन् ।
नेपाल भर बन्न लागेका स्मार्ट सिटीको बारेमा के भन्नुहुन्छ ?
स्मार्ट सिटी मध्यपहाडी क्षेत्र, हुलाकी लोकमार्ग, हिमाली क्षेत्र सबैतिर बन्दै छन् । योजनाबद्ध रुपले यसरी सहर बन्नु राम्रो हो । तर, यी सहर बन्ने प्रक्रियामा मात्र छन् । ५/१० वर्षमै बन्छन् भन्न सकिदैन । त्यसका लागि २० औँ वर्ष लाग्छ ।
सरकारले पूर्वाधार पुर्याउने र त्यहाँ व्यवसायीहरु गएर व्यवसाय खोल्ने हो भने बल्ल त्यो सहर बन्दै जाने हो । त्यहाँ रोजगारी सृजना हुनुपर्यो । त्यसको लागि लगानी चाहियो । अनी आफ्नै उत्पादन र सेवाहरुको विस्तार गर्नुपर्यो । त्यसले नगरपालिकाको राजश्व बढाउँछ र रोजगारी पनि सृजना हुन्छ ।
समग्र मुलुकको सहरी व्यवस्थापनका लागि चाहिने सहरी नीतिमा चाहीँ के हुँदै छ ?
सरकारले सहर व्यवस्थापनको लागि नयाँ नीति निर्माण गर्ने तयारी गरेको छ । सरकारले व्यवस्थित र बस्न लायक सहर निर्माणका लागि नयाँ नीति बनाउन लागेको हो ।
सहरी नीति विगतमा पनि थियो । तर, संघीय सरकारको उपस्थिति पनि थपिएका कारण त्यसलाई पूर्ण संशोधन गर्न लागिएको हो । सहरी विकास मन्त्रालयले उक्त नीति परिमार्जनका लागि समिति समेत गठन गरिसकेको अवस्था छ ।
यो नीतिले प्रदेश तथा स्थानिय स्तरमा बन्ने सहरको व्यवस्थापन गर्न सहयोग पुर्याउने छ । तर, नीति मात्र पर्याप्त हुँदैन । त्योसँगै बजेट र कार्यक्रमहरुको पनि जरुरी हुन्छ ।
अन्तमा, काठमाडौंलाई बस्न लायक सहर कसरी बनाउने, केही बताइदिनुस् न ?
काठमाडौंका पुराना सम्पदाहरुको संरक्षण र पूर्वाधारहरुमा योजनाबद्ध ढंगले सुधार गर्दै अघि बढ्न सकियो भने काठमाडौंलाई व्यवस्थित बनाउँदै लैजान सकिन्छ । यो सहरलाई जीवन्त म्युजियम बनाएर पर्यटकीय गतिविधिलाई तीव्र बनाउँदै लैजानु पर्छ । भारतीय र चिनियाँ सामान बेच्ने पसलहरुको सहरमा सीमित पार्नु हुँदैन ।
सडकहरु सुधार गर्दै लैजानुपर्छ । पूरै घर भत्काउन सकिँदैन, त्यसैले सुधार गर्दै लैजानुपर्छ । फुटपाथ, जेब्रा क्रसिङ इत्यादीमा ध्यान दिनुपर्छ । हिँड्ने र साइकल चढ्ने क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्छ ।
अब नयाँ बन्ने वस्तीहरुमा नक्सा बनाएर मात्र वस्ती बसाउनुपर्छ । नयाँ वस्तीहरुको योजना बनाउँदा कम्तीमा ५ प्रतिशत खाली ठाउँ छुट्याउनुपर्दछ । नेपालकै पोखरा, हेटाैंडा, धरान, महेन्द्रनगर, विरेन्द्रनगर जस्ता व्यवस्थित सहरहरुबाट सिक्न सकिन्छ । र, ऐनहरुको प्रभावकारी पालना हुनुपर्यो ।