काठमाडौंलाई जीवन्त म्यूजियम बनाउनु पर्छः किशोर थापाको अन्तर्वार्ता

पछिल्लो समय नेपालमा स्मार्ट सिटीको चर्चा बढ्दै गएको छ । सरकारले व्यवस्थित सहर निमार्णको लागि विभिन्न योजना तथा कार्यक्रम अगाडि सारेको छ । देशकै सबैभन्दा ठूलो सहरको रुपमा रहेको काठमाडौं सहर अस्तव्यस्त छ । सरकारले यसलाई व्यवस्थित बनाउने कुनै ठोस योजना ल्याएको छैन् । जसले गर्दा देशकै केन्द्रीय राजधानी भद्रगोल सहरको रुपमा परिचित हुँदै गइरहेको छ ।

 

नयाँ बन्ने स्मार्ट सिटी र काठमाडौं सहरको विकास, व्यवस्थापनलगायतका विषयमा सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा साझा पार्टीका नेता किशोर थापासँग चाणक्य पोष्टले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

 

सहर के हो वा के होइन ?

 

जुन वस्तीमा अधिकांश मानिसहरु गैरकृषि पेशामा हुन्छन्, उनीहरु उद्योगधन्दा, व्यापार, पर्यटन वा अन्य प्रशासनिक क्षेत्रमा लागेका हुन्छन् त्यस्तो वस्तीलाई सामान्यतः सहर भनेर बुझिन्छ । त्यहाँ वस्तु र सेवा उत्पादन हुन्छ ।

 

ग्रामीण क्षेत्र वा गाउँमा भने कृषि तथा खनिज उत्पादन हुन्छ । सहरमा कारखाना हुन्छ, उद्योग हुन्छ जसले वस्तु उत्पादन गर्छ । र, त्यो उत्पादित वस्तु ओसारपसार यातायात सुविधा र त्यसको सञ्चालनको लागि बाटोघाटोको पनि व्यवस्था हुन्छ/हुनुपर्छ, सहरमा ।

 

यो सबै आर्थिक र सामाजिक प्रक्रिया सञ्चालन गर्न सञ्चारको व्यवस्था पनि राम्रो हुन्छ सहरमा । सहरमा जनघनत्व बढी हुन्छ । सानो ठाउँमा धेरै मानिसहरु बस्ने गर्छन् । त्यसैले सहरको जग्गाको मूल्य पनि बढी हुन्छ ।

 

सहरलाई कला-संस्कृती र सभ्यताको केन्द्रको रुपमा पनि लिइन्छ । व्यवस्थित रुपमा विकास गर्दै लैजाने हो भने सहर मानव सभ्यताको जीवन्त विम्वको स्वरुप पनि हुन सक्छ ।

 

काठमाडौंलाई कस्तो सहरको रूपमा लिनु हुन्छ ?

 

काठमाडौं सहर प्राचिन सहर हो । यसको इतिहास ३ हजार वर्ष पुरानो छ । यो सहर किँरात, लिच्छवी, मल्ल र शाहाकाल हुँदै यहाँसम्म आएको हो । यो पौराणिकता, ऐतिहासिकता र आधुनीकता मिश्रित सुन्दर अभिव्यक्ति हो ।

 

पछिल्लो समय यहाँको वस्ती योजनावद्ध रुपमा विस्तार भएको होइन । यहाँका नगरपालिकाहरु घरको मात्र नक्सा पास गर्छन् । तर, सहरको नक्सा पास गरिएको छैन । सहर भनेको घर मात्र हैन । सहरमा बाटोघाटो, शिक्षा, स्वाथ्य, पार्क लगायतका सबै ठाउँहरुको सु-व्यवस्थापन गरिएको हुनुपर्छ ।

 

ती पुराना युगका संरचनाहरु अझै पनि प्रयोगमै छन् । त्यो समयमा पाटनहरु मात्र सहरको रुपमा थिए । पछि राणाकालमा डिल्लीबजार, पुतलीसडक आदि क्षेत्र पनि सहरको रुपमा विस्तार भए ।

 

नेपाल एकीकरण पछि काठमाडौं सम्पूर्ण नेपालको प्रशासनिक केन्द्रमा परिणत भयो । देशकै केन्द्र भएपछि यहाँ देशभरिका मानिसहरु आउन थाले । २००७ सालको क्रान्तिपछि त झन् धेरै मानिसहरु बसाइसराइ गर्दै काठमाडौं आउन थाले ।

 

हरेक क्रान्ति पछि काठमाडौंको जनघनत्व ह्वातै बढ्न थालेको देखिन्छ । माओवादीले पनि दाङ वा लिवाङलाई राजधानी बनाउन सक्थे तर, उनीहरु पनि यहीँ मिसिन आए । २०४६ सालमा बहुदल आउँदा पनि सबै यहीँ मिसिन आए । २०४६ सालपछि गोंगबु, सामाखुसी, डल्लु क्षेत्रमा अव्यवस्थित वस्ती फैलियो । अनी २०६३ पछि काँडाघारी, कटुन्जे आदि क्षेत्रमा पनि त्यस्तै भयो ।

 

२०३६ साल अगाडि मारवाडीले काठमाडौंमा घर बनाउँदैन थिए । व्यापार गर्दै उनीहरु डेरामा बस्थे । तर, ३६ सालपछि उनीहरु यहीँ बस्न थाले । मनाङगेहरु यहीँ आएर बस्न थाले ।

 

काठमाडौं कहिलेदेखि सहरबाट अव्यवस्थित वस्तीमा परिणत भयो ?

 

काठमाडौंको मुख्य रुपमा व्यवस्थापन बिग्रन थालेको २०४६ सालदेखि हो । २०४६ साल अघि तुलनात्मक रुपमा व्यवस्थित सहरले बढ्दै गएको जनघनत्वको चाप थेग्न सकेन । राजनीतिक अस्थिरता र द्धन्द्ध पनि बढ्दै गयो । संक्रमणकालमा नीति नियमहरु बन्न सकेनन् । कानुन पालना गराउने संस्थाहरु कमजोर हुँदा भएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन सकेन ।

 

अनी छोटो समयकै धुवाँ, धुलो, अध्याँरो सानो कोठा, ट्राफिक जाम आदि काठमाडौंका विम्व बन्न पुगे । वस्ती बढ्ने क्रम अझ जारी छ । काठमाडौंमा दैनिक न्यूनतम २ हजार ट्रिपरहरु निर्माण सामग्री लिएर भित्रिन्छन् ।

 

काठमाडौंभन्दा धेरै जनघनत्व भएका सहरहरु पनि व्यवस्थित नै देखिन्छन् । काठमाडौंको मात्र किन यस्तो अवस्था भयो ?

 

पछिल्लो समय यहाँको वस्ती योजनावद्ध रुपमा विस्तार भएको होइन । यहाँका नगरपालिकाहरु घरको मात्र नक्सा पास गर्छन् । तर, सहरको नक्सा पास गरिएको छैन । सहर भनेको घर मात्र हैन । सहरमा बाटोघाटो, शिक्षा, स्वाथ्य, पार्क लगायतका सबै ठाउँहरुको सु-व्यवस्थापन गरिएको हुनुपर्छ ।

 

तपाईं यो भन्दै हुनुहुन्छ की काठमाडौं सहरको नक्सा नै छैन ?

 

काठमाडौं लगायत नेपालका अन्य सहरहरुको विगतमा नक्साहरु बनेका थिए । तर, ती नक्साहर जनघनत्व र इट्टा बालुवाका घरले पुरिए ।

 

अब नयाँ बन्ने वस्तीहरुमा नक्सा बनाएर मात्र वस्ती बसाउनुपर्छ । नयाँ वस्तीहरुको योजना बनाउँदा कम्तीमा ५ प्रतिशत खाली ठाउँ छुट्याउनुपर्दछ । नेपालकै पोखरा, हेटाैंडा, धरान, महेन्द्रनगर, विरेन्द्रनगर जस्ता व्यवस्थित सहरहरुबाट सिक्न सकिन्छ । र, ऐनहरुको प्रभावकारी पालना हुनुपर्यो ।

 

अहिले एक थरीले पानीको मात्र नक्सा कोर्छन् । अर्काले सडकको मात्र कोर्छ । केहीले ढलको मात्र कोर्छन भने अरु घरमा केन्द्रीत छन् । तर, सहर भनेको त यी सबैको समग्रता हो नी । त्यसको भने नक्सा नै छैन ।

 

काठमाडौंमा बन्दै गरेका अन्य ४ वटा नयाँ सहरहरुको चाहीँँ कसरी बन्दै छन् ? तीनका चाँही नक्सा छन् ?

 

नयाँ बन्न लागेका सहरहरु आधुनिक स्याटलाइट सहर हो । ती सहरहरुको नक्सा बन्दै छन् । त्यो नक्सा अनुसारै सहर बनायौँ भने नयाँ बन्न लागेका सहरहरु व्यवस्थित हुन्छन् । यी नुमनाको रुपमा बनाइन लागेका सहरहरु हुन् ।

 

नेपाल भर बन्न लागेका स्मार्ट सिटीको बारेमा के भन्नुहुन्छ ?

 

स्मार्ट सिटी मध्यपहाडी क्षेत्र, हुलाकी लोकमार्ग, हिमाली क्षेत्र सबैतिर बन्दै छन् । योजनाबद्ध रुपले यसरी सहर बन्नु राम्रो हो । तर, यी सहर बन्ने प्रक्रियामा मात्र छन् । ५/१० वर्षमै बन्छन् भन्न सकिदैन । त्यसका लागि २० औँ वर्ष लाग्छ ।

 

सरकारले पूर्वाधार पुर्याउने र त्यहाँ व्यवसायीहरु गएर व्यवसाय खोल्ने हो भने बल्ल त्यो सहर बन्दै जाने हो । त्यहाँ रोजगारी सृजना हुनुपर्यो । त्यसको लागि लगानी चाहियो । अनी आफ्नै उत्पादन र सेवाहरुको विस्तार गर्नुपर्यो । त्यसले नगरपालिकाको राजश्व बढाउँछ र रोजगारी पनि सृजना हुन्छ ।

 

समग्र मुलुकको सहरी व्यवस्थापनका लागि चाहिने सहरी नीतिमा चाहीँ के हुँदै छ ?

 

सरकारले सहर व्यवस्थापनको लागि नयाँ नीति निर्माण गर्ने तयारी गरेको छ । सरकारले व्यवस्थित र बस्न लायक सहर निर्माणका लागि नयाँ नीति बनाउन लागेको हो ।

 

सहरी नीति विगतमा पनि थियो । तर, संघीय सरकारको उपस्थिति पनि थपिएका कारण त्यसलाई पूर्ण संशोधन गर्न लागिएको हो । सहरी विकास मन्त्रालयले उक्त नीति परिमार्जनका लागि समिति समेत गठन गरिसकेको अवस्था छ ।

 

यो नीतिले प्रदेश तथा स्थानिय स्तरमा बन्ने सहरको व्यवस्थापन गर्न सहयोग पुर्याउने छ । तर, नीति मात्र पर्याप्त हुँदैन । त्योसँगै बजेट र कार्यक्रमहरुको पनि जरुरी हुन्छ ।

 

अन्तमा, काठमाडौंलाई बस्न लायक सहर कसरी बनाउने, केही बताइदिनुस् न ?

 

काठमाडौंका पुराना सम्पदाहरुको संरक्षण र पूर्वाधारहरुमा योजनाबद्ध ढंगले सुधार गर्दै अघि बढ्न सकियो भने काठमाडौंलाई व्यवस्थित बनाउँदै लैजान सकिन्छ । यो सहरलाई जीवन्त म्युजियम बनाएर पर्यटकीय गतिविधिलाई तीव्र बनाउँदै लैजानु पर्छ । भारतीय र चिनियाँ सामान बेच्ने पसलहरुको सहरमा सीमित पार्नु हुँदैन ।

 

सडकहरु सुधार गर्दै लैजानुपर्छ । पूरै घर भत्काउन सकिँदैन, त्यसैले सुधार गर्दै लैजानुपर्छ । फुटपाथ, जेब्रा क्रसिङ इत्यादीमा ध्यान दिनुपर्छ । हिँड्ने र साइकल चढ्ने क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्छ ।

 

अब नयाँ बन्ने वस्तीहरुमा नक्सा बनाएर मात्र वस्ती बसाउनुपर्छ । नयाँ वस्तीहरुको योजना बनाउँदा कम्तीमा ५ प्रतिशत खाली ठाउँ छुट्याउनुपर्दछ । नेपालकै पोखरा, हेटाैंडा, धरान, महेन्द्रनगर, विरेन्द्रनगर जस्ता व्यवस्थित सहरहरुबाट सिक्न सकिन्छ । र, ऐनहरुको प्रभावकारी पालना हुनुपर्यो ।

भाषाको कारण तीन महिनादेखि चीन निर्यातमा रोक, व्यापार घाटा बढ्ने Read Previous

भाषाको कारण तीन महिनादेखि चीन निर्यातमा रोक, व्यापार घाटा बढ्ने

घट्दो बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

घट्दो बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट