काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । यो साता मंगलबार समान्य सुधार भएपनि अरु सबै दिन ओरालै लागेको छ । साताको सुरुका दुई दिनमा करिब १८ अंकले घटेको बजार आज ३ अंकको गिरावट आएको छ । कारोबार रकममा भने न्यून बढोत्तरी आएको छ ।
सेयर बजार मापक सूचक नेप्से आज ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा आइपुगेको छ । आज १६५ कम्पनीको २९ करोड ४७ लाख ९ हजार ८५८ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ४७ हजार ८५३ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १२ वटा समूहमध्ये ९ समूहको सूचक ओरालो लागेका छन् भने ३ समूहको सूचक उकालो लागेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै ४३.०७ अंकले घटेको छ भने व्यापार समूहको सूचक सबैभन्दा धेरै २०.१९ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आजपनि एनएमबी बैंकको सेयर नै शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ९० लाख २३ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, नेपाल फाइनान्स कम्पनी र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त सेयर मूल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले घटेको छ ।