साउनमा १३ बैंकले घटाए ब्याजदर, दुईले बढाए, कुनको कति ?

काठमाडौं । साउन महिनाका लागि १३ वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, दुई बैंकले बढाएका छन् भने ५ वटाले असारकै ब्याजदर स्थिर राखेका छन् ।

चालु वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले झण्डै ७ खर्ब रुपैयाँ तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

असारकोे तुलनामा साउनमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१४ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.१९ प्रतिशत बिन्दुले घटाएका छन् । असारमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.८८ प्रतिशत रहेकोमा साउनमा घटेर ६.७४ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर असारमा ५.६७ प्रतिशत रहेकोमा साउनमा ५.४८ प्रतिशतमा झरेको छ ।

साउनका लागि १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा हिमालयन बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ ०.७५ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, प्रभु, नेपाल र माछापुच्छ्रेले व्यक्तिगत तर्फ ०.५ प्रतिशत बिन्दुले घटाएका छन् ।

त्यस्तै, प्राइम कमर्शियल, सिद्धार्थ, ग्लोबल आइएमई, एनएमबी, एनआइसी एशिया, सिटिजन्स, कुमारी र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

साउनमा सरकारी स्वामित्वको कृषि विकास बैंक र निजी क्षेत्रको एभरेष्टले निक्षेपको ब्याजदर बढाएका छन् । जसमा कृषिले व्यक्तिगततर्फ सर्वाधिक ०.६३ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । त्यस्तै, एभरेष्टले व्यक्तिगत र संस्थागत दुवै मुद्दतीको ब्याज ०.५५ प्रतिशत बिन्दुले बढाएको छ ।

साउनमा नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, नबिल, लक्ष्मी सनराइज र नेपाल एसबीआइले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

साउनमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.२३  प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनएमबीले सर्वाधिक ७.५ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ६.२९८५ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार दशौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि गत असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

गत साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

आँखुखोला जलविद्युतको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

आँखुखोला जलविद्युतको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड