नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले स्थापनाको ४१ औं वर्षमा प्रवेश गरेको छ ।  बैंकले शुक्रबार आफ्नो ४०औँ वार्षिकोत्सव मनाएको हो ।
बैंकका अध्यक्ष उपेन्द्र पौड्याले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए ।
बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिए ।
बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्वीर प्रदर्शनीलगायतका कार्यक्रम तय भएको उनको भनाइ थियो ।
सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक  ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ ।
बैंकले आफूलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित गरेको छ । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ ।
‘नबिल बैंक सँगै अघि’ नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमाले गर्दै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङमा जोड दिएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ सुरुआत गरेको थियो ।
नबिलले सन् १९९४ मा पहिलो पटक एटीएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो । सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो ।
बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो ।
बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
भारतबाट चिनी ल्याउन १० उद्योगले पाए अनुमति Read Previous

भारतबाट चिनी ल्याउन १० उद्योगले पाए अनुमति

बचतपत्रमा लगानी गरेको १५ करोड पैसा फिर्ता लिन गएनन् लगानीकर्ता Read Next

बचतपत्रमा लगानी गरेको १५ करोड पैसा फिर्ता लिन गएनन् लगानीकर्ता