बचतपत्रमा लगानी गरेको १५ करोड पैसा फिर्ता लिन गएनन् लगानीकर्ता

काठमाडौं । विभिन्न किसिमका बचतपत्रमा लगानी गरेका लगानीकर्ता आफ्नो पैसा फिर्ता लिन नगएको पाइएको छ ।

सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण नागरिक बचतपत्र, विकास ऋणपत्र र वैदेशिक रोजगार बचतपत्रमा लगानी गरेकाहरू परिपक्व अवधि पूरा भए पनि अझै आफ्नो भुक्तानी लिन नगएका हुन् ।

बचतपत्रको रकम परिपक्व भएर पनि पैसा लिन नगएपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर पैसा लिन आउन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार बचतपत्रको फिर्ता लिन नआएको रकम झण्डै १५ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार परिपक्क भएर पनि हालसम्म भुक्तानी हुन बाँकी रकम १४ करोड ९० लाख रुपैयाँ छ । जसमा नागरिक बचतपत्रमा ९ करोड ९३ लाख, वैदेशिक रोजगार बचतपत्रमा ९१ लाख र विकास ऋणपत्रमा ४ करोड ६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

धेरै नागरिकलाई आफ्नो लगानी परिपक्व अवधिबारे जानकारी नभएर, बचतकर्ता विदेशमा रहेको, लगानीकर्ताको मृत्यु भएर, अदालत तथा अख्तियारको आदेशका कारण रोक्का भएका कारण परिपक्व भएको रकम भुक्तानी लिन नआएको राष्ट्र बैंकले जनाएको छ ।

हालसम्म भुक्तानी नलिएका लगानीकर्तालाई यशाशिघ्र पैसा लिन आउने आग्रह गरेको छ । ‘नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशिघ्र भुक्तानी लिनुहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ,’ राष्ट्र बैंकद्धारा जारी सूचनामा भनिएको छ ।

गत चैत १८ गतेसम्म सरकारका लागि राष्ट्र बैंकले नै ऋण उठाइदिने गरेको थियो । चैत १९ देखि सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउँदै आएको छ ।

नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता Read Previous

नबिल बैंक ४१औं वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

भोटेकोसी हाइड्रोको ढलान भत्किँदा मृत्यु भएका कामदारका परिवारलाई ३० लाख दिइने Read Next

भोटेकोसी हाइड्रोको ढलान भत्किँदा मृत्यु भएका कामदारका परिवारलाई ३० लाख दिइने