
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)मा वाणिज्य बैंकहरूले झण्डै साढे ५६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म २० वाणिज्य बैंकहरूले कुल ५६ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
गत वर्षको जेठको तुलनामा चालु आवमा वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म बैंकहरूले ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालु आवको जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूले ७ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जेठमा बैंकहरूले औसतभन्दा धेरै नाफा कमाएका छन् । बैंकहरूले चालु आवमा औसतमा मासिक ५ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसक्दा यस वर्ष बैंकहरूले लक्ष्य अनुसार नयाँ कर्जा विस्तार गर्न सकेका छैनन् । अहिले बैंकहरूलाई विगतमा गरिएको कर्जाको ब्याजले नै भरथेग गरिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय कर्जाको ब्याजदर सस्तिए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न र उद्यमीको मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।
राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, ११ महिनामा कर्जाको वृद्धिदर ५.२ प्रतिशत मात्रै छ ।
यस्तै, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा पनि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् । समयमै कर्जा असुली नहुँदा खराब कर्जा बढ्न जाँदा बैंकहरूको प्रोभिजनिङ दायित्व बढेको छ ।
कुनले कति कमाए नाफा ?
जेठसम्म नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । यस अवधिमा नबिलले सर्वाधिक ६ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकले दोस्रो धेरै ५ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएको छ । जेठसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड, प्राइम कमर्शियलले ३ अर्ब ५५ करोड, एभरेष्टले ३ अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्यले ३ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरी, प्रभु बैंकले ३ अर्ब ३ करोड, कृषि विकासले ३ अर्ब २ करोड, स्ट्याण्डर्ड चार्टर्ड ३ अर्ब १ करो, एनएमबीले २ अर्ब ७७ कारोड, हिमालयनले २ अर्ब ७६ करोड, लक्ष्मी सनराइज २ अर्ब ३७ करोड, सिद्धार्थ २ अर्ब २७ करोड, एनआइसी एशिया २ अर्ब २३ करोड र सानिमाले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका छन् ।
जेठसम्म ६ बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ । सिटिजन्सले १ अर्ब ७५ करोड, कुमारी १ अर्ब ६७ करोड, नेपाल एसबीआइ १ अर्ब ६६ करोड, माछापुच्छ्रेले १ अर्ब २८ करोड नाफा कमाएको छ ।
जेठसम्म सरकारी स्वामित्वको नेपाल बैंकले सबैभन्दा कम १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ ।