
काठमाडौं । उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) भएका दिनमा तोकिएका जिल्लाहरूमा रात्रि बस संचालन गर्न नपाइने भएको छ ।
शुक्रबार गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका हुन् ।
मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको उनले बताए ।
रात्रि बस चलाउन नपाइने दिन र जिल्लाको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।
यससँगै अब बाढीपहिरो आउनसक्ने रेड एड्भाइजरी जारी भएको जिल्लाका सडकमा राति सवारीसाधन चलाउन पाइने छैन ।
गृहले वर्षायाममा रात्रिकालीन सवारी संचालनमा रोक लगाउने प्रस्ताव गरे पनि व्यवसायीले नमानेपछि रेड एड्भाइजरी भएको दिनमा मात्र रोक लगाउने सहमति भएको हो ।
त्यस्तै, अबदेखि लामो तथा मध्यम दूरीमा यात्रा गर्दा टिकट अनिवार्य गरिने भएको छ । त्यसैगरी, पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने निर्णयसमेत भएको छ ।
आज बिहान नारायणगढ-मुग्लिन सडकमा पहिरोले दुई वटा बस त्रिशूलीमा खसाल्दा ६५ यात्रु बेपत्ता भएका थिए ।