ढल्यो प्रचण्ड सरकार, पाँचौंपटक विश्वासको मत पाउन असफल

कठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत पाउन असफल भएका छन् । यससँगै उनको सरकार ढलेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा दाहालको पक्षमा ६३ मत मात्रै परेको थियो भने विपक्षमा १९४ मत परेको थियो । २५८ सांसद उपस्थित भएको संसदमा एक जना तटस्थ बसेका छन् । प्रधानमन्त्रीको पक्षमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले मत दिएका थिए ।

काँग्रेस, एमाले, राप्रापा लगायत अन्य दल उनको विपक्षमा मत दिए । दाहालले पछिल्लो १८ महिनामा पाँचौँपटक विश्वासको मत लिएका हुन् । यसअघि लगातार ४ पटक विश्वासको मत पाएका उनले आज संसदको विश्वास गुमाएका हुन् ।

सत्ता साझेदार नेकमा एमाले लगायत दले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिएका थिए । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा २७० जना सांसदमध्ये २६८ जनाको मत प्राप्त पाएका थिए । सो बेला २ जनाले मात्र विपक्षमा मतदान गरेका थिए ।

त्यसको झण्डै साढे २ महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित २६२ सांसदमध्ये कांग्रेससहित १७२ जनाले विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । सोबेला बैठकमा सहभागी २६८ सांसदमध्ये १५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित ११० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो ।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दाहालले २०८१ जेठ ७ गते चौथोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा १५७ सांसदले मत दिएका थिए । एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाको चुनावमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिटमा जित हात पारेका थिए ।

त्यसैगरी, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले ६, स्वतन्त्र ५ जना, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा एक–एक सिटमा विजयी भएका थिए ।

जेठसम्म नबिलले कमायो झण्डै साढे ६ अर्ब नाफा, अरूको कति ? Read Previous

जेठसम्म नबिलले कमायो झण्डै साढे ६ अर्ब नाफा, अरूको कति ?

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारीमा अर्याल, महाप्रबन्धकमा जमरकटेल Read Next

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारीमा अर्याल, महाप्रबन्धकमा जमरकटेल