काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान सवारीसाधन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमको बीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ)ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरारेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई उक्त सहयोग गरेको हो ।
बैंकका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए। उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए । अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए।
बैंकका सीईओ ढुंगानाले नबिल बैंक सधैँ मानव सेवाका कार्यहरूमा तयार रहेको बताए । उनले मानव सेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए ।
नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए।
मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए।
२०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७,००० भन्दा बढीलाई आश्रय दिएको छ। सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अध्यक्ष अधिकारीले बताए।
मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खाना समेत वितरण गरे। मानिसको जीवन बचाउने र मर्यादित जीवनको सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भन्दै नबिल बैंकले अति आवश्यक क्षेत्रमा सधैँ हातेमालो गर्ने गरेको छ ।