घर कर्जा विस्तारमा आक्रमक बन्दै एनआइसी, आधा हिस्सा एक्लैको, ५ बैंकले भने घटाए

काठमाडौं । आर्थिक शिथिलताका बाबजूद बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिगत आवासीय कर्जा (२ करोड रुपैयाँसम्म) लगानीमा आक्रमक बन्न थालेका छन् । घरजग्गामा सरकार र नेपाल राष्ट्र बैंकको नीतिगत लचकता पछि बैंकहरू यस क्षेत्रमा कर्जा विस्तारमा आक्रमक बन्न थालेका हुन् ।

आर्थिक मन्दीका कारण बजारमा उपभोग्य वस्तुको माग नबढ्दा उत्पादनमूलक, कृषि, व्यापार, हायर पर्चेज लगायत क्षेत्रमा कर्जाको माग छैन । तर, मन्दीकै बीच सेयर, घरजग्गा, ट्रम लोन भने बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सरकारले पूँजीगत खर्च गर्न नसक्दा सडक लगायत ठूला पूर्वाधार निर्माण गति लिन नसके पनि मन्दीकै बीच ऋण लिएर घर बनाउने तथा किन्ने क्रम भने बढेको देखिन्छ । जसकारण यस क्षेत्रमा कर्जा लगानी बढेको हो ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिरहँदा लगानी बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले घरजग्गामा गरिएको नीतिगत लचकतासँगै ऋण विस्तारमा केन्द्रित हुन थालेका हुन् । अन्य कर्जाको तुलनामा घरकर्जाको जोखिमभार समेत कम भएकाले बैंकहरू ऋण लगानी गर्न इच्छुक देखिएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्षको १० महिना (साउन-वैशाख) आवासीय घर कर्जा लगानी ११.८ प्रतिशतले बढेको छ । चालु वर्षको साउनदेखि वैशाखसम्म मात्रै बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरूले मात्रै ३३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल आवासीय कर्जा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा वैशाख मसान्त आइपुग्दा बढेर ३ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।

घरजग्गा क्षेत्रमा बैंकको ऋण लगानी बढेसँगै कारोबार समेत बढेको छ । चालु आवको जेठमा २६ महिना यताकै धेरै ६१ हजार बढी घरजग्गा किनबेच भएको छ । डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्लो महिनाहरूमा क्रमशः बढ्न थालेको छ ।

नियामक निकाय र सरकारले लिएको नीतिगत लचकताले आवासीय कर्जाको माग बढाएको बैंकरहरू बताउँछन् । सरकारले कित्ताकाट खुकुलो बनाएको छ भने नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जाको लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत घरकर्जाको सीमा बढाउनुको साथै जोखिम भारसमेत घटाएको थियो । राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको सीमा डेढ करोड रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ कायम गरेको थियो ।

त्यसैगरी, राष्ट्र बैंकले असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत घरजग्गा कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस व्यवस्थाले घर कर्जा लिनेलाई सहज बनाएको छ । अहिले ऋणीले आफ्नो आम्दानीको ७० प्रतिशतसम्म रकम घर कर्जाको किस्ता तिर्न पाउँछन् ।

यस्तै, बैंकहरू पनि घर कर्जा विस्तार गर्न सस्तो ब्याजदरका स्कीम ल्याएरै ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन् । केही बैंकले त एकल अंकको ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालेका छन् ।

एनआइसी एक्लैले दियो आधा ऋण

चालु आवमा २० वाणिज्य बैंकहरूले मात्रै कुल ३३ अर्ब २७ करोड व्यक्तिगत घरकर्जा लगानी गरेका छन् । जसमा एनआइसी एशियाले मात्रै आधा बढी अर्थात् १७ अर्ब ५ करोड रुपैयाँ घर कर्जा दिएको छ । यो चालु आवमा वाणिज्य बैंकहरूले गरेको कुल घरकर्जाको ५१.२४ प्रतिशत हो ।

चालु आवमा अन्य बैंकको भने घरकर्जा सामान्य मात्रै बढेको छ । चालु आवमा समग्रमा सबैभन्दा धेरै ४५ अर्ब कर्जा विस्तार गरेको नबिल घर कर्जा विस्तारमा भने खासै आक्रमक देखिएको छैन । १० महिनामा नबिलले ४ अर्ब ४९ करोड रुपैयाँ मात्रै घर कर्जा लगानी गरेको छ ।

त्यसैगरी, ग्लोबल आइएमईले ३ अर्ब २० करोड, सिद्धार्थ २ अर्ब ४२ करोड, राष्ट्रिय वाणिज्य १ अर्ब ९३ करोड, कृषि विकास १ अर्ब ६३ करोड, सानिमा १ अर्ब २१ करोड, कुमारी १ अर्ब १७ करोड, एनएमबी १ अर्ब १४ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड घरकर्जा लगानी गरेका छन् ।

त्यस्तै, चालु आवमा सिटिजन्सले ९० करोड, प्राइम कमर्शियलले ७० करोड, एसबीआइले २९ करोड, माछापुच्छ्रेले २६ करोड र एभरेष्टले २ करोड रुपैयाँ घरकर्जा लगानी गरेका छन् ।

५ बैंकको भने घट्यो

चालु आवमा १५ बैंकको घर कर्जा वृद्धि गर्दा ५ बैंकले भने घटाएका छन् । चालु आवमा स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी र प्रभु बैंक घर कर्जा विस्तार भन्दा असुलीमा केन्द्रित भएका हुन् ।

समीक्षा अवधिमा प्रभु बैंकको घरकर्जा लगानी १ अर्ब ३३ करोड रुपैयाँ घटेको छ । त्यसैगरी, लक्ष्मी सनराइज १ अर्ब २३ करोड, इन्भेष्टमेन्ट मेगा ७९ करोड, हिमालयन ५६ करोड र चार्टर्डको साढे ७ करोडले घरकर्जा घटेको छ ।

 

बढ्यो पेट्रोल र डिजेलको भाउ Read Previous

बढ्यो पेट्रोल र डिजेलको भाउ

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी दुई सातादेखि आन्दोलित, राजमार्ग ठप्प पार्ने चेतावनी Read Next

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी दुई सातादेखि आन्दोलित, राजमार्ग ठप्प पार्ने चेतावनी