काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ५ रुपैयाँ मूल्य बढाएको हो ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पद्धार्थको भाउ बढेसँगै मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य १५४.५० रुपैयाँ कायम गरिएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।