काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले ‘बीमा दाबी भुक्तानी मार्गदर्शन २०८१’ लागू गरेको छ ।
प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको हो । पछिल्लो समय बीमितले समयमै बीमा दाबी भुक्तानी नपाएको गुनासो बढेपछि प्राधिकरणले उनीहरूको गुनासो सम्बोधन गर्न मार्गनिर्देशन जारी गरेको हो ।
प्राधिकरणका अनुसार अब बीमा कम्पनीहरूले बीमा रकम दाबी भुक्तानीका लागि छुट्टै दाबी विभाग गठन गर्नुपर्ने भएको छ । बीमा कम्पनीहरूले बीमालेख बमोजिम बीमा दाबी गर्नुपर्ने भएमा दाबीकर्ताले यथासम्भव छिटो बीमकलाई लिखित जानकारी गराउनुपर्नेछ । लिखित जानकारी गराउन नसक्ने अवस्था भएमा दाबीकर्ताले मौखिक, टेलिफाने, इमेल वा अन्य कुनै माध्यमबाट समेत सूचना दिन सक्ने प्राधिकरणले जनाएको छ ।
जीवन बीमाकोे हकमा परिपक्व भएको बीमालेखको दाबी भुक्तानीमा बीमकले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सकल बीमालेख वा परिचय खुल्ने कागजातसहित भुक्तानी लिनका लागि सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ । बीमलेख अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले र कसैलाई पनि नइच्छाइएको भए सबैभन्दा नजिकको हकवाला वा अख्तियार प्राप्त व्यक्तिले कागजात खुलाइ निवेदन दिनुपर्नेछ ।
यस्तै, निर्जीवन बीमा कम्पनीले भुक्तानीका लागि निवेदन प्राप्त भएपछि आवश्यक जाँचबुझ प्रारम्भ गर्नुपर्नेछ । लगत्तै दाबीको विवरण सहित सर्भेयर नियुक्त गर्नुपर्नेछ । विदेशी पुर्नबीमकबाट अनुरोध भएमा वा आवश्यकता भएमा नेपाली र विदेशी ािली संयुक्त रुपमा सर्भे गर्न प्राधिकरणको स्वीकृति लिनुपर्नेछ ।
एउटा कम्पनीले व्यक्तिगत सर्भेयरले बढीमा ५ र संस्थागत सर्भेयरले १० वटासम्म सर्भेको प्रतिवेदन बुझान बाँकी रहेको अवस्थामा पुनः सोही सर्भेयरलाई नियुक्त गर्न पाउने छैनन् ।
खटिएको सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिन भित्र बीमितले पाउनसक्ने रकम उल्लेख गरी दायित्व निर्धारणसहित विस्तृत प्रतिवेदन बुझाउनु पर्नेछ ।
प्रतिवेदन पेश भएको २१ दिन भित्र बीमितलाई दाबी भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । बीमकले सो अवधिमा दाबी भुक्तानी गर्न नसकेमा कारणसहित प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ ।