काठमाडौं । असार मसान्त नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा केन्द्रित हुन थालेका छन् । बिग्रँदो ब्यालेन्स सिटमा सुधार ल्याउन बैंकहरू कर्जा लगानीभन्दा पनि असुलीमा केन्द्रित हुन थालेका हुन् ।
अर्थतन्त्रमा आएको शिथिलताका कारण चालु आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ व्यवसाय खस्कँदो क्रममा छ । बजारमा उपभोग्य वस्तुको माग र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । त्यस्तै, आर्थिक मन्दीका कारण व्यवसाय चौपट हुँदा व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । नियमित रुपमा कर्जाको साँवा–ब्याजतिर्न सकेका छैनन् । जसकारण बैंकको कर्जा असुली हुन नसकी खराब कर्जा त्रैमासैपिच्छे बढ्दो क्रममा छ ।
चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा ३.९९ प्रतिशत पुगेको छ । अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसकेकाले असार मसान्तसम्म खराब कर्जा झनै बढ्ने देखिन्छ । यस्तोमा आफ्नो ब्यालेन्स सिटमा सुधार ल्याउन बैंकहरू अहिले जसरी पनि कर्जा असुल्ने काममा केन्द्रित हुन थालेका छन् । कर्जा लगानीबाट आम्दानी बढाउन नसकेका बैंकहरू अहिले विगतमा गरिएको कर्जा असुलेर भए पनि ब्यालेन्स सिटमा सुधार ल्याउने ध्याउन्नमा छन् ।
कर्जा असुल्न अहिले बैंकहरूले ‘साम, दाम, दण्ड, भेद’ सबै उपाय अपनाइरहेको ऋणीहरू बताउँछन् । बैंकहरूले कर्जा असुलीका लागि ऋणीहरूलाई तारन्तर फोन गर्नेदेखि धितो लिलामीमा समेत आक्रमक हुन थालेका छन् । यद्यपि, धितो समेत लिलाम हुन नसकिरहेको अवस्था छ । त्यस्तै, केही बैंकले कर्जा असुल्न हर्जाना, जरिवाना तथा ब्याज समेत छुटको अफर ल्याएका छन् ।
चैतसम्म राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण/पुनर्संरचनाको सुविधा दिएको थियो । तर, अहिले सो सुविधा छैन । यस्तोमा खराब कर्जा झनै बढ्ने निश्चित छ । त्यसैले बैंकहरू जसरी हुन्छ कर्जा असुलीमा केन्द्रित भएका हुन् ।
कर्जा असुल्न सके बैंकहरूको ब्याज आम्दानी बढ्नुका साथै कर्जा नोक्सानीका लागि छुट्याउनु पर्ने प्रोभिजन रकम समेत घट्छ । जसले नाफा बढाउन समेत सहयोग पुग्ने भएकाले बैंकहरू अहिले दिनरात नभनी ऋण उठाउन प्रयास गरिरहेका छन् । खराब कर्जाले ५ प्रतिशतको सीमा नाघे राष्ट्र बैंकले लाभांश घोषणा, शाखा विस्तार, व्यवसाय विस्तारमा समेत रोक लगाउन सक्छ । त्यसैले बैंकहरूले कर्जा असुलीका लागि अनेक उपाय अपनाउन थालेका छन् ।
यसैक्रममा, सरकारी स्वामित्वको नेपाल बैंक र निजी क्षेत्रको एनआइसीले कर्जा असुल्न ब्याज छुटसम्मको अफर ल्याएका छन् ।एनआइसी एशियाले चैत मसान्तसम्म भाखा नाघेका ऋणीले असार भित्र चुक्ता गरेमा जरिवाना, हर्जनाका साथै ब्याजमा समेत छुट दिने भएको हो ।
बैंकका अनुसार असारभित्र ऋण चुक्ता गर्नेले हर्जना र जरिवानामा शतप्रतिशत छुट पाउने छन् । त्यस्तै, ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको ऋणको ब्याजमा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्मकोमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको ऋणको ब्याजमा ३५ प्रतिशत छुट पाउने छन् ।
बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा यो छुट लागू हुनेछ ।
आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले हर्जना र ब्याजमा छुट दिइएको एनआइसीले जनाएको छ ।
त्यस्तै, नेपाल बैंकले असार भित्रै ऋण तिर्ने ऋणीलाई ब्याज छुट दिने घोषणा गरेको छ । यस बैंकले कर्जा उपभोग गरी २०७५ चैतमसान्त अघि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा ५० लाख रुपैयाँसम्म रहेका ग्राहकले यही असार मसान्त भित्र ऋण तिरेमा छुट पाउने भएका हुन् ।
बैंकका अनुसार उल्लेखित ऋणीले २०७६ वैशाखदेखि हालसम्मका कर्जा ग्राहकहरूले कर्जाको बुझाउनुपर्ने सम्पूर्ण सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज र ब्याजको ब्याजमा सम्पूर्ण छुट दिई साधारण ब्याज रकममा समेत ५ प्रतिशत छुट पाउने छन् ।
अरु बैंकले पनि ब्याज छुटको योजना सार्वजनिक नगरे पनि ग्राहकसँगको सम्बन्ध र अवस्था हेरी असार भित्रै ऋण तिर्ने ग्राहकलाई केही सहुलियत/सहजीकरण गरिरहेका छन् ।