जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माण गर्न ‘प्रि-फिजिबिलिटी’ सम्पन्न, लागत ३५ अर्ब

सुर्खेत । लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रि-फिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।

उक्त सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए । उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा ईटीको–टीएमएस-रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो ।

आव २०७९/८० मा सुरुङ मार्ग निर्माणको अध्ययन गर्न बजेट विनियोजन भएको थियो । आव २०७९/८० को अन्तिमा प्रि(फिजिबिलिटी’ अध्ययनका लागि सडक विभागले ठेक्का आह्वान गरी पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित ईटीको–टीएमएस–रेज जेभीसँग सम्झौता गरेको थियो । ठेक्का लिएको कम्पनीले एक वर्षभन्दा बढी समय लगाएर ‘प्रि–फिजिबिलिटी’ अध्ययन प्रतिवेदन विभागमा बुझाएको छ ।

‘प्रि-फिजिबिलिटी’ अध्ययनको काम सकिएर सडक विभागमा बुझाएको टीएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए। जाजरकोटको कुसे गाउँपालिका-८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका-८, इमिल्चाघारीसम्मको दूरी १० किलोमिटर रहेको छ ।

अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दूरी छोटिने छ । ‘प्रिफिजिबिलिटी’ अध्ययनले सुरुङ मार्ग निर्माण गर्न उपयुक्त रहेको निष्कर्ष निकालेको छ । प्रतिवेदनको आधारमा सडक विभागले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने छ ।

सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका  इन्जिनियर दीपक एकामीले बताए । कर्णाली प्रदेशको सबैभन्दा बीच भागमा जाजरकोट पर्छ । जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले सुरुङ मार्ग निर्माण भएमा साविकको कर्णालीको चौतर्फी विकासका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

जाजरकोट र जुम्ला मात्र नभइ कर्णालीकै समृद्धिसँग जोडिएको यो मार्गलाई छिटो निर्माण चरणमा लैजानुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए । यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लानुपर्ने उनको भनाइ छ ।

७ लघुबीमा कम्पनीको आइपीओ आउँदै, कुनको कति ? Read Previous

७ लघुबीमा कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

कर्जा असुलीमा केन्द्रित हुँदै बैंक, ल्याउन थाले ब्याज छुटसम्मको अफर Read Next

कर्जा असुलीमा केन्द्रित हुँदै बैंक, ल्याउन थाले ब्याज छुटसम्मको अफर