काठमाडौं । हाल संचालनमा रहेको ७ लघु बीमा कम्पनीहरूले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएका छन् ।
गत वर्षदेखि संचालनमा आएका ३ जीवन र ४ निर्जीवन लघुबीमा कम्पनीहरूले सर्वसाधरणलाई सेयर दिन आइपीओ जारी गर्ने भएका हुन् ।
लघुबीमा कम्पनीहरूले कम्तीमा चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधरणमा जारी गर्नु पर्ने व्यवस्था छ । ‘लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ अनुसार लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहका सेयरधनीको हिस्सा न्यूनतम ५१ प्रतिशत र सर्वसाधरणको हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ ।
हालसम्म संस्थापकहरूलाई मात्र सेयर जारी गरेका लघुबीमा कम्पनीहरूले अब सर्वसाधरणलाई सेयर जारी गर्ने भएका हुन् । हरेक लघुबीमा कम्पनीले कम्तीमा साढे २२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएका हुन् ।
हाल सबै कम्पनीका चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । सो अनुसार चुक्ता पूँजी पुर्याउन अब हरेक कम्पनीले कम्तीमा साढे २२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछन् ।
कम्पनी सञ्चालनमा आएको कम्तीमा १ वर्ष पुगेपछि मात्र सर्वसाधारणमा सेयर जारी गर्न पाउने कम्पनी ऐनको व्यवस्था रहेको छ । ७ मध्ये केही लघुबीमा कम्पनी संचालनमा आएको १ वर्ष पुगिसकेको छ । ती कम्पनीले आफ्नो वार्षिक साधारण सभामाबाट आइपीओ प्रस्ताव समेत पारित गरिसकेका छन् ।