जीवन बीमा कम्पनीले गरे १.३४ खर्बको व्यापार, आधा बजार ३ कम्पनीको कब्जामा

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ) मा झण्डै १ खर्ब ३४ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्म जीवन बीमा व्यवसाय गर्ने १७ कम्पनीले कुल १ खर्ब ३३ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । जसमा १४ जीवन बीमा कम्पनीले १ खर्ब ३३ अर्ब ६२ करोड र ३ लघु जीवन बीमा कम्पनीले १३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

गत वर्ष सोही अवधिको तुलनामा चालु आवमा जीवन बीमा व्यवसाय ७.३९ प्रतिशत अर्थात् ९ अर्ब २१ करोड रुपैयाँले बढको हो । गत वर्ष जेठसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको थिए ।

चालु आवमा बीमा कम्पनीहरूले नयाँ व्यवसाय खासै बढाउन नसके पनि पुरानै पोलिसी नवीकरणले व्यवसाय धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ७९.२८ प्रतिशत रहेको छ ।

जेठसम्म जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत २७ अर्ब ७० करोड र नवीकरण शुल्क बापत १ खर्ब ६ अर्ब ५ करोड रुपैयाँ संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीले जेठ महिनामा मात्रै १२ अर्ब २९ करोड रुपैयाँ बीमा शुलक संकलन गरेका छन् । कुल ४ लाख ५५ हजार ३५ वटा पोलिसीबाट उक्त रकम संकलन गरेका हुन् ।

जेठ महिनासम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख ८९ हजार ६२२ वटा रहेको छ ।

आधा बजार ३ कम्पनीको कब्जामा

समीक्षा अवधिमा संकलित कुल बीमा शुल्कमध्ये आधा हिस्सा ३ कम्पनीको रहेको छ । जेठसम्म नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले मात्रै ६७ अर्ब ४३ प्रतिशत बीमा शुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्को ५०.४१ प्रतिशत हिस्सा हो ।

बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । जेठसम्म नेपाल लाइफले मात्रै ३५ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.५९ प्रतिशत हिस्सा हो ।

त्यस्तै, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले समान झण्डै १६/१६ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा ११.९५ प्रतिशत र लाइफ इन्स्योरेन्सको ११.८८ प्रतिशत रहेको छ ।

गत वर्ष ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले जेठसम्म १४ अर्ब ६४ करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हाे ।

समीक्षा अवधिमा सूर्यज्योति लाइफले ८ अर्ब, एशियन लाइफले ७ अर्ब २ करोड, राष्ट्रिीय बीमाले ५ अर्ब ९५ करोड, सानिमा रिलायन्सले ५ अर्ब ३२ करोड, सिटिजन लाइफले ५ अर्ब २९ करोड र मेट लाइफले ५ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

जेठसम्म ४ कम्पनीले भने ५ अर्ब रुपैयाँभन्दा कमको व्यवसाय गरेका छन् । जसमा आइएमई लाइफ ४ अर्ब ४ करोड, प्रभु महालक्ष्मी ३ अर्ब ७१ करोड र रिलायबल लाइफले ३ अर्ब ६९ करोड प्रिमियम संकलन गरेका छन् । यस अवधिमा सन नेपाल लाइफले भने सबैभन्दा कम ३ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको छ ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको जेठसम्म कुल १३ करोड २८ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.१० प्रतिशत मात्र हो ।

जेठसम्म गार्डियन माइक्रो लाइफले ३ करोड २९ लाख, क्रेष्ट माइक्रो लाइफले ७ करोड ८७ लाख र लिबर्टी माइक्रो लाइफले २ करोड १० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट, १८६ कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, १८६ कम्पनीको मूल्य घट्यो

संसदीय छानबिन समितिले माग्यो गृहमन्त्री रवि मुछिएका सहित ९ सहकारीको कागजात Read Next

संसदीय छानबिन समितिले माग्यो गृहमन्त्री रवि मुछिएका सहित ९ सहकारीको कागजात