काठमाडौं । सहकारी संस्थाका बचत रकम हिनामिना बारे छानबिन गर्न गठित संसदीय विशेष समितिले ९ वटा सहकारीका कागजात माग गरेको छ ।
संसदीय विशेष समितिको बुधबार बसेको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको सम्बन्धित निकायबाट कागजात माग गर्ने निर्णय गरेको हो ।
समितिले गृहमन्त्री रवि लामिछाने मुछिएको सूर्यदर्शन बचत तथा ऋण सहकारीसहित सुप्रिम बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्थाको पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण लगायत कागजात मगाएको हो ।
त्यसैगरी, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरिएको छ ।
गृहमन्त्री लामिछाने पनि सहकारी ठगीमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि गत महिना संसदीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले आवश्यक अध्ययन अनुसन्धान गरी ३ महिना भित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।