काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले चितवनको भरतपुरमा पहिलोपटक सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ ।
कम्पनीले बिहीबार बिहान क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।
श्रीको परीक्षण उडान सफल भएसँगै अब नियमित उडान गर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै नियमित उडान सुरू गरिने एयरलाइन्सले जनाएको छ ।
पर्यटकीय क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यले गन्तव्य विस्तार गर्न लागिएका कम्पनीले बताएको छ ।
भरतपुरमा श्रीले नियमित उडान थाल्ने भएसँगै बुद्ध एयरको एकाधिकार तोडिने भएको छ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको छ । श्रीले यस गन्तव्यमा उडान थालेपछि भाडा समेत सस्तिने अपेक्षा गरिएको छ ।
श्री एयरलाइन्सले हाल काठमाडौंबाट पोखरा, भैरहवा, विराटनगर, जनकपुर, राजविराज, भद्रपुर, धनगढी, नेपालगन्ज लगायत स्थानमा सेवा दिँदै आएको छ । साथै माउन्टेन फ्लाइट पनि गर्दै आएको छ ।