विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले साढे ३ अर्ब बक्यौता असुल्न बाँकी

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम २ अर्ब ४३ करोड २२ लाख २३ हजार ४६१ रकम पुगेको छ ।

गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम रु २७ करोड ८१ लाख ९७ हजार ४०० ले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडकबत्ती बापतको हो ।

केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम रु २ अर्ब २७ करोड १० लाख २२ हजार १९४ रहेको छ । त्यसैगरी सडकबत्तीको बक्यौता रकम रु २१ करोड २८ लाख ३५ हजार पाँच सय छ रहेको छ । त्यस्तै घरायसी ग्राहकको बक्यौता रकम पनि रु ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम रु ३ अर्ब १५ करोड ४० लाख २६ हजार ४५७ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने तीन हजार ३९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।

‘वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो,’ उनले भने, ‘यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।’ केन्द्रले बक्यौता मासिक नतिर्ने ३०० भन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।

कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । ‘करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्,’ उनले भने, ‘छिमेकीले बिजुलीको महसुुस नतिरेपछि लाइन काटियो भन्ने हल्लागाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ ।’

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम रु २ अर्ब ३ करोड ६२ लाख ११ हजार ७६९ रहेको थियो । सोही वर्ष सडकबत्ती बापतको बक्यौता रु १८ करोड ६७ लाख ७८ हजार १० रहेको छ । घरासयी ग्राहकको बक्यौता रकम रु ५३ करोड ७४ लाख ५३ हजार ७८८ रहेको थियो ।रासस

चालु वर्षमा मकवानपुरमा ३७४ उद्योग बन्द Read Previous

चालु वर्षमा मकवानपुरमा ३७४ उद्योग बन्द

रनवेमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल बन्द, जहाज आकाशमै होल्ड Read Next

रनवेमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल बन्द, जहाज आकाशमै होल्ड