घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको लचकता, यस्ता छन् ७ मुख्य नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति समीक्षा गर्दै कर्जा लगानीमा केही सजीकरण गरेको छ । राष्ट्र बैंकले मुख्य गरी सवारी कर्जा र घरजग्गा कर्जामा केही लचकता अपनाएको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झारेकाे छ ।  यसअघि यस्तो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो ।

त्यसैगरी, राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यसले घरजग्गा कर्जाको माग बढाउन सहयोग गर्नेछ ।

राष्ट्र बैंकले विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंकदरलाई यथावत राखेको छ ।

त्यस्तै, विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई पनि यथावत राखेको छ ।

यस्ता छन् राष्ट्र बैंकले गरेका मुख्य ७ व्यवस्था

१. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।

२.बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ ।

३.बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई१०० प्रतिशत कायम गरिनेछ ।

४. बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।

५. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।

६.घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात Debt Service to Gross Income Ratio)  लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।

७. चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो Read Previous

सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो

कर्जाको प्रोभिजन रकम घट्यो, बैंकलाई राहत Read Next

कर्जाको प्रोभिजन रकम घट्यो, बैंकलाई राहत