सानिमा रिलायन्स लाइफको नाफा झन्डै दोब्बरले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा झन्डै दोब्बरले बढेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ९२.९४ प्रतिशतले बढेको हो ।

सानिमाले चालु वर्षको चैत मसान्तसम्म ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आव सोही अवधिको तुलनामा १४ करोड ६१ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्ष चैतसम्म १५ करोड ७९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य सुधार आउँदा खुद नाफा बढेको हो ।

चालु वर्षमा कम्पनीको कुल बीमा शुल्क संकलन ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोडले बढेर रुपैयाँ पुगेको छ । चैतसम्म कम्पनीको ऋण तथा लगानीबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.०३ रुपैयाँबाट बढेर ९.७१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.९९ रुपैयाँ छ ।

माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई कम्यूटर सहयोग Read Previous

माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई कम्यूटर सहयोग

छिमेक लघुवित्तको खुद नाफा ६४ करोड, वितरण योग्य नाफा झण्डै डेढ अर्ब Read Next

छिमेक लघुवित्तको खुद नाफा ६४ करोड, वितरण योग्य नाफा झण्डै डेढ अर्ब