काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २९९.४६ प्रतिशतले बढेको हो ।
चालु आवको चैत मसान्तसम्म लघुवित्तले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ करोड १८ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म लघुवित्तले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.२६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ । लघुवित्तको सञ्चालन नाफा ५६९.३७ प्रतिशतले बढेर ४३ करोड २० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ ।
हाल २ अर्ब ६१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १३ करोड ७१ लाख रुपैयाँ छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ४ गुणाले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.२५ रुपैयाँबाट बढेर ८.९८ रुपैयाँ पुगेकोे छ ।
यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा १.३२ प्रतिशत विन्दुले घटेको छ । गत चैतमा १२.०९ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर १०.७७ प्रतिशतमा झरेको छ ।