चुक्ता पूँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्दै ८ बीमा कम्पनी, कुनले कति ?

काठमाडौं । चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूले हकप्रदको साहरा लिएका छन् । तोकिएको समयमा लाभांश दिएर चुक्ता पूँजी पुर्याउन नसकेपछि बीमा कम्पनीहरूले धमाधम हकप्रद प्रस्ताव गर्न थालेका हुन् ।

हालसम्म २८ (जीवन र निर्जीवन) कम्पनीमध्ये ८ कम्पनीले मात्रै चुक्ता पूँजी पुर्याएका हुन् । जसमा ३ जीवन र ५ निर्जीवन बीमा कम्पनी रहेका छन् । प्राधिकरणले तोकेको समय सीमा ९ महिना बित्दा समेत डेढदर्जन कम्पनीले चुक्ता पूँजी कायम गर्न सकेका छैनन् ।

प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरूले १ वर्ष भित्र चुक्ता पूँजी अढाई गुणाले बढाउन निर्देशन दिएको थियो । सो अनुसार २०७९ चैतसम्म जीवन बीमा कम्पनीले न्यूनतम ५ अर्ब र निर्जीवन बीमाले साढे २ अर्ब रुपैयाँ पूँजी पुर्याउनु पथ्र्यो । सो समयमा पनि पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले २०८० असार मसान्तसम्म म्याद थपिदिएको थियो । तर, थपेको म्याद ९ महिना बित्दा समेत अझै १८ कम्पनी (विदेशी कम्पनीका शाखा बाहेक)ले पूँजी पुर्याएका छैनन् ।

प्राधिकरणले पूँजी बढाउन निर्देशन दिए पनि कडाइका साथ कार्यान्वयन नगर्दा बीमा कम्पनीहरूले समयमै चुक्ता पूँजी पुर्याउन नसकेका हुन् ।

पूँजी पुर्याउन बाँकी बीमा कम्पनीमध्ये  ५ कम्पनीले बोनस र ८ कम्पनीले हकप्रदमार्फत पूँजी पुर्याउने घोषणा गरेका छ । ४ कम्पनीले भने अझै पूँजी वृद्धिको कुनै योजना पेश गरेका छैनन् ।

हकप्रदमार्फत पूँजी वृद्धि गर्दै ८ कम्पनी

प्राधिकरणले पूँजी वृद्धिमा लचकता अपनाउँदै बीमा कम्पनीहरूलाई हकप्रद सेयर निष्काशन गर्न दिने बताएको छ । सो अनुसार बीमा कम्पनीहरूले धमाधम हकप्रद प्रस्ताव गरेका छन् ।

हालसम्म ३ जीवन र ५ निर्जीवन बीमा कम्पनीले हकप्रद सेयर प्रस्ताव गरेका छन् । जीवन बीमातर्फ हालसम्म नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले मात्रै चुक्ता पूँजी पुर्याएका छन् । त्यस्तै, सूर्यज्योति र आइएमई लाइफले बोनसबाटै हकप्रद पुर्याउने घोषणा गरेका छन् ।

सन नेपाल, एशियन लाइफ र लाइफ इन्स्योरेन्सले भने हकप्रद ल्याएर पूँजी पुर्याउने घोषणा गरेका छन् । सन नेपाल लाइफले गत वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर वितरणपछि २७ प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजी पुर्याउने योजना पेश गरेको छ ।

त्यस्तै, एशियन लाइफले ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि ४२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेका छन् । सिटिजन (५ प्रतिशत) र रिलायबल (१६ प्रतितश)ले लाभांश प्रस्ताव गरेका छन् । तर, प्रस्तावित लाभांशले मात्र चुक्ता पूँजी नपुग्ने भएकाले यिनले पनि हकप्रद प्रस्ताव गर्नसक्ने सम्भावना देखिन्छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमासहित सानिमा रिलायन्स र प्रभु महालक्ष्मीले भने अझै पूँजी वृद्धि योजना सार्वजनिक गरेका छैनन् ।

त्यस्तै, निर्जीवन बीमातर्फ हालसम्म ५ कम्पनीले पूँजी पुर्याएका छन् । शिखर, सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट (घोषणा गरेको ८.६३ प्रतिशत बोनस सेयरपछि) चुक्ता पूँजी पुर्याएका छन् । बाँकी ९ कम्पनीमध्ये ओरिएण्टल र नेशनल विदेशी कम्पनीका शाखा भएकाले तोकिएको पूँजी कायम गर्नुपर्दैन भने ७ वटाले अझै पुर्याउन सकेका छैनन् ।

पूँजी पुर्याउ बाँकी ७ निर्जीवन बीमा कम्पनीले मध्ये अझै ५ हकप्रद प्रस्ताव गरेका छन् । एनएलजी, नेको, प्रभु, नेपाल र सानिमा जीआइसीले हकप्रद सेयर प्रस्ताव गरेका छन् ।

नेको इन्स्योरेन्सले २५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत र सानिमा जीआइसीले २५ प्रतिशत हकप्रद प्रस्ताव गरेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले अझै पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Previous

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, नगद घट्यो Read Next

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, नगद घट्यो