काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ८४६.३० प्रतिशतले बढेको हो ।
चालु आवको चैत मसान्तसम्म माइक्रोफाइनान्सले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११ करोड ८ लाख रुपैयाँ धेरै हो । गत वर्ष चैतसम्म लघुवित्तले १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र खराब कर्जा घट्न गई इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।
समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा ११८६.९२ प्रतिशतले बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा माइक्रोफाइनान्सले ११ अर्ब ६९ करोड निक्षेप तथा सापटी लिइ कुल १३ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ ।
हाल १ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको रिडेन्ड अर्निङमा ९ करोड ३७ लाख र जगेडा कोषमा ६१ करोड ५४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको वितरण योग्य नाफा ९ करोड ३७ लाख रुपैयाँ छ ।
खुद नाफा बढेसँगै माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँबाट बढेर १२.५१ रुपैयाँमा पुगेकोे छ ।
यस अवधिमा माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ १५३.७२ रुपैयाँ छ । समीक्षा अवधिमा माइक्रोफाइनान्सले खराब कर्जा ९.१ प्रतिशतबाट घटेर ७.६१ प्रतिशतमा झरेको छ ।