टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क सिपमूलक तालिम सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमूलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताइन्।

‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशक्तिको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ,’ उनले भनिन् ।

सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘हामीले तालिम दिएका व्यक्तिहरु कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौँ । उहाँले व्यावसायिक रुपमा प्राप्त गर्नुभएको उपलब्धीलाईं महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आवद्ध गर्छौँ ।’ उनले काठमाडौँमा रहेका अनौपचारिक क्षेत्रका जनशक्तिलाई तालिम दिएर औपचारिक क्षेत्रमा ल्याउने बताए ।

अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भनै नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भरिरहेका छन् । यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ ।
उद्घाटन समारोहमा करिब ५ हजार ५०० व्यक्ति सहभागी भएको सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिइन् ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् ।

सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (ईभी), इलेक्ट्रिकल कार रिपेयर (ईभी) विषय छन् ।

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ ।
हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ र वेटररवेट्रेस प्रशिक्षण हुनेछ ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटीभी क्यामरा विषय राखिएका छन् ।

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्÷ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ । आठौँ क्षेत्र ब्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।

नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत् शवदाह निःशुल्क Read Previous

साउन १ गतेदेखि पशुपति आर्यघाटमा विद्युत् शवदाह निःशुल्क

मेरो माइक्रोफाइनान्सको नाफा साढे ९ गुणाले बढ्यो Read Next

मेरो माइक्रोफाइनान्सको नाफा साढे ९ गुणाले बढ्यो