काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि पुनः मलेसियाको क्वालालम्पुर उडान सुरु गरेको छ । एयरलाइन्सले १५० यात्रुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुकी ९ः२० बजे क्वालालम्पुरको लागि उडान गरेको हो ।
वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो ।
भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो ।
यो नयाँ उडानसँगै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउँदै लैजानमा विश्वास राखिएको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो ।
‘हामी क्वालालम्पुर र काठमाडौंबीचको सिधा उडान पुनर्संचालन गर्न पाउँदा एकदमै हर्षित भएका छौं। यो उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ,’ प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने ‘यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ।‘ कम्पनीले साताको दुई उडान गर्नेछ।
एयरलाइन्सले क्वालालम्पुरमा अब साताको दुई उडान गर्ने जनाएको छ । काठमाडौंबाट सोमबार र बिहीबार उडान भर्ने छ भने क्वालालम्पुरबाट मंगलबार र शुक्रबार फर्कने छ ।
दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क दिएको कम्पनीले जनाएको छ।